इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम प्रस्तावअनुसार सोमबार दिउँसो हमासले जीवित सबै २० बन्धकलाई रिहा गरेको छ, पहिलो चरणमा ७ र त्यसपछि १३ जनालाई छोडिएको हो, ट्रम्पले तीन चरणमा इजरायली सैनिक गाजाबाट फिर्ता हुने गरी शान्ति सम्झौता गराएका छन्।

आश्विन २८, २०८२

गोविन्द देवकोटा

Israel-Hamas: Trump becomes the boss of the peace deal

What you should know

काठमाडौँ — ७ अक्टोबर २०२३ मा प्यालेस्टिनी विद्रोही संगठन हमासले इजरायलमा हमला गरेपछि सुरु भएको इजरायल–हमास द्वन्द्व दुई वर्षपछि करिब–करिब अन्त्य हुने अवस्थामा पुगेको छ । आक्रमणको शृंखला पुनः सुरु भएन भने यतिका लामो समयसम्म द्वन्द्वको चपेटामा रहेका गाजावासीले अब खुला आकाशमुनि स्वतन्त्रताको श्वास फेर्न पाउनेछन् । इजरायल–हमास युद्धविरामको मियो बनेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । उनकै प्रयासमा २१ औं शताब्दीको यो नृशंस हत्याको शृंखला हाललाई रोकिएको हो ।

ट्रम्पको योजनाअनुसार भएको शान्ति सम्झौताअन्तर्गत सोमबार दिउँसो हमासले जीवित सबै २० बन्धकलाई रिहा गर्‍यो । पहिलो चरणमा ७ र त्यसपछि १३ जनालाई छोडिएको थियो । हमासले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका माध्यमबाट इजरायली सेनालाई ती बन्धकहरूलाई सुम्पिएको थियो । दुई वर्ष लामो समयपछि बन्धकहरूको परिवारसँगको मिलन निकै मर्मस्पर्शी बनेको थियो । अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक छैनन् । नेपालका विपिन जोशी जिउँदो रहेको भनिएकामा हमासले मृत्यु भइसकेको पुष्टि गर्दै उनको शव इजरायल सरकारलाई बुझाएको छ । 

हमासको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाइएको थियो । त्यसयता इजरायलले गरेको सैन्य कारबाहीमा करिब ६७ हजार प्यालेस्टिनी मारिएको हमासको स्वास्थ्य मन्त्रालयको दाबी छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासले सोमबार बेलुका चार जनाको शव बुझाउँदा विपिन जोशीको शव पनि थियो ।

अन्य शवहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेजको हो । तर उनीहरूको शव पहिचान प्रक्रिया गर्न भने दुई दिनसम्म लाग्न सक्ने बताइएको छ । यता इजरायलसँग रहेका प्यालेस्टिनी कैदीहरू पनि रिहा भएका छन् । इजरायल शान्ति सम्झौताअन्तर्गत १ हजार ९ सयभन्दा बढी कैदी वेस्ट बैंक र गाजामा पुगिसकेका छन् ।

अब मध्यपूर्वमा स्थायी शान्तिको अपेक्षा

दुई वर्षको आततायी युद्धका क्रममा इजरायलका १ हजार २ सय बढी र गाजाका ६० हजार बढीले ज्यान गुमाए । लाखौं प्यालेस्टिनीहरू घरबारविहीन हुन पुगे । युद्धविरामपछि हजारौं प्यालेस्टिनी खण्डहर बनेको सहरलाई फेरि उठाउने लक्ष्यका साथ आफ्नो थातथलोमा फर्किएका छन् । यसका लागि मियो बने, अमेरिकी राष्ट्रपति ट्रम्प । लामो दबाबपछि उनकै कारण त्यहाँ शान्तिको पहिलो चरण आरम्भ भयो । सोमबार ट्रम्प आफैं इजरायल पुगे । उनले इजरायलको संसद्मा करिब ६५ मिनेट सम्बोधन गरे । 

Israel-Hamas: Trump becomes the boss of the peace deal

सम्बोधनका क्रममा उनले अब मध्यपूर्वमा स्थायी शान्ति आउने उद्घोष गरे । यतिका समयसम्म अरब देशहरूले प्रयास जारी राखे पनि प्यालेस्टाइनका नागरिकमाथि बम बर्सिने क्रम रोकिएको थिएन । तर ट्रम्पकै लगाव र मध्यस्थताका कारण त्यहाँका नागरिकहरू अब भने इजरायली सेनाको गोलीको सिकार हुनुपर्ने छैन भन्ने अपेक्षामा छन् । विश्वका कैयौं देशका नेताहरूले बन्धक रिहाइको स्वागत गरेका छन् । यो अवस्थासम्म आइपुग्न ट्रम्पले खेलेको ऐतिहासिक भूमिकाको स्वागत गर्दै प्रशंसासमेत गरेका छन् । 

यता मिश्रको सरकारी समाचार पत्र अल अहरामका अनुसार गाजामा भविष्यमा हुने शान्ति सम्मेलनका लागि कतार, जोर्डन, प्यालेस्टिनी अथोरिटी, फ्रान्स, जर्मनी र इन्डोनेसियाका नेता मिश्रको शर्म अल शेख पुगिसकेका छन् । यसको अध्यक्षता मिश्रका राष्ट्रपति अब्दुल फतह अल–सीसी र अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नेछन् । अल अहरामले साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान पनि आएको बताएको छ । यस्तै अल जजिराका अनुसार गाजा सम्झौताअन्तर्गत रिहा गरिएका १ सय ५४ प्यालेस्टिनी बन्दीलाई मिश्र पठाइएको छ । 

नेतान्याहुलाई माफी दिन अपिल

ट्रम्पले इजरायली संसद्मा सम्बोधन गर्ने क्रममा इजरायली राष्ट्रपति इसाक हर्जोगसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भ्रष्टाचारको आरोपमा माफी दिन अपिलसमेत गरेका छन् । ट्रम्पको यो अपिललाई लिएर प्रधानमन्त्री र उनका संसदीय सहयोगीहरूले स्वागत गरेका छन् । संसद्मा नारा लगाउँदै तालीसमेत बजाएका थिए । ट्रम्प मिश्रको रिसोर्ट सहर शर्म अल शेख पुगिसकेका छन् । उनले त्यहाँ शान्ति सम्झौताको समारोहमा अध्यक्षता गर्नेछन् । जहाँ २० देशका नेताहरू सहभागी हुनेछन् । 

ट्रम्पले आफ्नो सम्बोधनका क्रममा भने, ‘हामी एक यस्तो विरासत बनाउनेछौं, जसलाई लिएर यस क्षेत्रका सबै नागरिकले गर्व गर्नेछन् । हामी एक राम्रो भविष्य बनाउनेछौं ।’ उनले तेल अविवबाट दुबई, हाइफबाट बेरुत, जेरुसेलमबाट दमास्कस र इजरायलबाट मिश्र, साउदी अरेबिया, कतार, भारत, पाकिस्तान, इन्डोनेसिया, इराक, सिरिया, बहराइन, टर्किए, जोर्डन, यूएई, ओमान, अर्मेनिया र अजरबैजानजस्ता देशबीच मित्रवत् र व्यापार बढाउने कुरा गरेका छन् । 

Israel-Hamas: Trump becomes the boss of the peace deal

यस्तै ट्रम्पले नेतान्याहुलाई देशभक्त र साहसी नेता भएको बताए । नेतान्याहुको सहयोगबिना अहिलेको अवस्था सम्भव नभएको उनको भनाइ थियो । उनले आफ्नो भाषणका क्रममा गाजामा बन्धक सम्झौताका लागि हमासलाई दबाब बढाएर सहयोग गरेकामा अरब देश र मुस्लिम नेताहरूको पनि प्रशंसा गरे । उनले भने, ‘हामीलाई धेरैले सहयोग गरे । केही यस्ता व्यक्तिहरू पनि थिए, जसका बारेमा हामी सोच्न पनि सक्दैनौं । म उनीहरू सबैलाई आभार व्यक्त गर्दछु ।’ उनले इजरायल र विश्वका लागि यो ठूलो जित भएको बताएका छन् । मध्य पूर्वका लागि शान्तिको ऐतिहासिक नयाँ बिहानी भएको ट्रम्पले उद्घोष गरे । 

नोबेल शान्ति पुरस्कारका लागि समर्थन

इजरायलले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको समर्थन गरेको छ । संसद् अध्यक्ष अमिर ओहानाले पनि यस पुरस्कारका लागि ट्रम्पभन्दा योग्य व्यक्ति अरू कोही नभएको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै यो दिन इतिहासमा सधैं याद राखिने बताएका छन् । ‘हामीले लामो समयदेखि यो दिन पर्खिरहेका थियौं । म पूरै देशवासीका तर्फबाट तपाईंलाई आभार व्यक्त गर्दछु ।’

इजरायलले ट्रम्पलाई सदनमा सम्मान पनि गरेको छ । ट्रम्पले रिहा भएका इजरायली बन्धकका परिवारसँग पनि भेट गरेका छन् । उनलाई इजरायलको सर्वोच्च नागरिकको सम्मान दिइएको छ । इजरायली राष्ट्रपति इसाक हर्जोगले यसको घोषणा गरे । ट्रम्पभन्दा पहिले यस्तो सम्मान तीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन (२०१३), बाराक ओबामा (२०१३) र जो बाइडेन (२०२२) लाई दिइएको थियो । 

तीन चरणमा सैनिक फिर्ता

शान्ति सम्झौताअन्तर्गत अहिले गाजाबाट इजरायली सैनिक सीमासम्म फिर्ता भएका छन् । तर अहिले पनि ५३ प्रतिशत क्षेत्रमा इजरायली सेनाको नियन्त्रण रहेको जनाउने गरी गत साता ह्वाइट हाउसले एक नक्सा प्रकाशित गरेको थियो । त्यसअनुसार इजरायली सेनाको फिर्ता प्रक्रिया तीन चरणमा हुनेछ । ट्रम्पको शान्ति सम्झौताअन्तर्गत अमेरिकी सेनाको रेखदेखमा करिब २ सय सैनिकको एक बहुराष्ट्रिय बलले युद्धविरामको निगरानी गर्नेछ । यस बलमा मिश्र, कतार, टर्की र यूएईका सैनिक पनि सहभागी छन् । 

स्थायी शान्तिका लागि यस्ता छन् चुनौती

योजनाअनुसार सबै बुँदाहरूमा दुवै पक्ष बिनासर्त सहमत भए भने गाजामा स्थायी शान्तिका लागि कुनै समस्या हुने छैन । तर केही सर्तहरूमा अझै पनि शंका छ । सोमबार नै हमासले त्यहाँको एक सशस्त्र समूहसँगको दोहोरो गोली हानाहानमा २७ जना मारिएका छन् । गाजाका बासिन्दाका लागि इजरायली सेना मात्रै त्रासको माध्यम थिएन । हमासको कट्टपन्ता पनि उनीहरूका लागि उत्तिकै चुनौतीपूर्ण छ । हमासले यसअघि नै इजरायली पक्षधरहरूको सफाया गर्ने घोषणा गरिसकेको छ । सोही कारण तत्कालै गाजामा पूर्ण रूपमा शान्ति कायम हुन्छ भन्नेमा अझै शंका छ । 

Israel-Hamas: Trump becomes the boss of the peace deal

योजनाअनुसार गाजालाई विसैन्यीकरण गरिनेछ । गाजामा सुरुमा प्यालेस्टिनी टेक्नोक्रेट्सको एक अस्थायी समितिले चलाउने र यसको रेखदेख ‘पिस बोर्ड’ ले गर्ने उल्लेख छ । यसको अध्यक्ष ट्रम्प आफैं हुनेछन् भने यसमा बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि सहभागी हुनेछन् । सुधार भएपछि गाजाको शासन प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिनेछ । पहिलेदेखि नै यसले वेस्ट बैंकमा प्रशासन चलाइरहेको छ । योजनाअनुसार २००७ देखि गाजामा शासन गरिरहेको हमासको भविष्यमा कुनै प्रकारले भूमिका हुने छैन । 

यदि हमासका सदस्यहरू शान्तिपूर्ण सहअस्तित्वका लागि प्रतिबद्ध रहे भने उनीहरूलाई माफी दिइनेछ । उनीहरूलाई अरू देशमा पनि सुरक्षित रूपमा जानका लागि अनुमति दिइने सम्झौतामा उल्लेख छ । र, कुनै पनि प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि बाध्य पारिने छैन । सम्झौताका क्रममा पछि विभिन्न बुँदाहरूमा विवाद आउन सक्छन् । हाललाई बन्धक रिहाइको प्रक्रियालाई प्राथमिकता दिए पनि भविष्यमा स्थायी शान्तिका लागि भने विभिन्न अवरोधहरू आउन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरू बताउँछन् । 

शान्ति प्रक्रियाको मुख्य सर्त नै हमासको निःशस्त्रीकरण भनिएको छ । तर हमासले पहिलेदेखि नै हतियार बिसाउनबाट इन्कार गर्दै आएको छ । एक स्वतन्त्र प्यालेस्टाइन देशको स्थापना नहुँदासम्म हतियार नछाड्ने अडानमा हमास छ । 

सोही कारण पनि हमासको व्यवहारमा कुनै परिवर्तन नआउने आकलन गरिएको छ । यद्यपि ट्रम्पको योजनामा इजरायलले पूर्ण सहमति दिइसकेको छ । इजरायलले हाल गाजाको ५३ प्रतिशत क्षेत्रमा आफ्नो सैन्य नियन्त्रण बनाइराख्ने बताएको छ । ह्वाइट हाउसको योजनाअनुसार अघिल्लो चरणमा सेना केही पछि हट्ने नेतान्याहुले बताएका छन् । अन्तिममा इजरायली सेना गाजाको सीमा नजिकै रहनेछ । गाजाका तर्फबाट इजरायललाई सुरक्षा चुनौती अब हुँदैन भन्ने सुनिश्चित नहुँदासम्म इजरायली सैनिक गाजाको सिमाना नजिक रहिरहने इजरायलले बताएको छ । सम्झौतामा इजरायली सेनाको पूर्ण फिर्ताका बारेमा पनि स्पष्ट उल्लेख छैन ।

गोविन्द देवकोटा

Link copied successfully