भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहारको रोहतास जिल्लामा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको अविरल वर्षाले ससाराम सहर पूर्ण डुबानमा परेको छ ।
काठमाडौँ — शुक्रबारदेखि निरन्तर जारी वर्षाका कारण नेपालको पूर्वी तराईका जिल्ला मात्रै प्रभावित भएका छैनन्, छिमेकी बिहार राज्यका धेरै जिल्ला पनि प्रभावित बनेका छन् । कतिपय जिल्लामा भने बाढीको जोखिम बढेको छ ।
भारत मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार बिहारमा विगत चार दिनदेखि जारी वर्षाका कारण बाढी आउने खतरा बढेको हो ।
आईएमडीका अनुसार बिहारका पटना, भभुआ, अरवल, भोजपुर, बुक्सर, रोहतास, सारन, सिवान, अररिया, बांका, बेगुसराय, भागलपुर, दरभङ्गा, गया, जमुई, खगडिया, लखीसराय, मधेपुरा, मधुबनी र मुंगेरजिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ । त्यस्तै नवादा, पश्चिम चम्पारण, पूर्वी चम्पारण, पूर्णिया, सहरसा, समस्तीपुर, शिवहर, सीतामढी र वैशाली जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरिएको हो।
यीमध्ये पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, शिवहर, मधुबनी र अररिया लगायत क्षेत्र बाढीको जोखिममा छन् ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार बिहारको रोहतास जिल्लामा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको अविरल वर्षाले ससाराम सहर पूर्ण डुबानमा परेको छ ।
जमुहारस्थित नारायण मेडिकल कलेज र आसपासका बस्तीहरू पानीमुनि डुबेका छन् भने सयौँ सवारीसाधन थुनिएका छन् । घर भत्किएका, विद्यालय र अस्पताल जलमग्न भएका खबरहरू आएका छन् ।
यसअघि नै आईएमडीले बिहारका लागि अति भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरिसकेको थियो भने उत्तर प्रदेशको पूर्वी भूभाग, पश्चिम बंगाल र सिक्किमका लागि ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ ।
