पाकिस्तानको बलुचिस्तानमा कार बम विस्फोट : मृतकको संख्या १० पुग्यो, ३० जना घाइते

राजधानी क्वेटास्थित अर्धसैनिक बल फ्रन्टियर कोरको मुख्यालयनजिक उक्त विस्फोट गराइएको थियो ।

आश्विन १४, २०८२

सिन्ह्वा

Car bomb blast in Pakistan's Balochistan: Death toll reaches 10, 30 injured

इस्लामाबाद — दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मंगलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्यमन्त्री बख्त मुहम्मद काकरले बताएका छन् ।

आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार बिहान ११ः३० बजेको आसपासमा भएको उनको भनाई छ । आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विस्फोट भएको तथा चार आतंककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।  

आक्रमणपछि सुरक्षा बलको जवाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ ।  

क्वेटामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उदृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएकोे छ ।  

विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताएका छन् । 

घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउँदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरेका छन् ।  

स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उदृत गर्दै सिन्ह्वाले सहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको  छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्‍याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतंककारीहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् ।

सिन्ह्वा

Link copied successfully