जेन–जी आन्दोलनको प्रभाव : अमेरिकनलाई नेपाल यात्रा नगर्न आग्रह   

‘प्रदर्शन, झडप र अशान्त क्षेत्रमा नजानू होला,’ ब्युरो अफ कन्सुलरले आफ्ना नागरिकका लागि भनेको छ, ‘यदी तपाईं भम्रणको क्रममा नेपाल मुख्य पर्यटकीय क्षेत्र काठमाडौं र पोखरामा हुनुहुन्छ भने, सुरक्षित स्थानमा बस्नु होला ।’

आश्विन १२, २०८२

सुदीप शिवाकोटी

Impact of Gen-G movement: Americans are urged not to travel to Nepal

अमेरिका — भदौ २३–२४ (सेप्टेम्बर ८–९) मा नेपालमा भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह गरेको छ ।

अमेरिका सरकारको संघीय निकाय युएस डिमार्टमेन्ट अफ स्टेट अन्तर्गतको ब्यूरो अफ कन्सुलर एफिएर्सले ट्राभल एडभाइजरी (यात्राका लागि सुझाव) जारी गर्दै अमेरिकनलाई अनावश्यक वा सम्भव भएसम्म नेपाल यात्रा नगर्न आग्रह गरेको हो । ब्यूरोले आन्दोलनको समयदेखि हालसम्मसम्म लेभल १,२, र ३ जारी गरिसकेको छ । 

लेभल १ र २ मा नेपालमा जेन–जी आन्दोलन र आन्दोलन पछिका घटनाक्रम, नेपाल रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन अपिलसँगै अमेरिकी सरकारसँग सम्बन्धित नेपालमा रहेका निकायसँग सम्पर्कमा रहन सूचना जारी गरेको थियो । लेभल ३ मा भने ब्यूरोले सम्भव भएसम्म नेपाल यात्रा नगर्न सुझाव दिएको छ । 

नेपालमा गृह अशान्ति फैलिएको र जेन–जी आन्दोलनको क्रममा सेप्टेम्बर ८–९ मा हिंसात्मक गतिविधिसमेत भएकाले भम्रणका लागि नेपाल यात्रा तत्काल नगर्न र यात्रामा रहेकालाई अमेरिकी सरकारी निकायको सम्पर्कमा आएर सुरक्षित रहन ट्राभल एडभाजरीमा ब्युरो अफ कन्सुलर एफिएर्सले उल्लेख गरेको छ ।

‘प्रदर्शन, झडप र अशान्त क्षेत्रमा नजानू होला,’ ब्युरो अफ कन्सुलरले आफ्ना नागरिकका लागि भनेको छ, ‘यदी तपाईं भम्रणको क्रममा नेपाल मुख्य पर्यटकीय क्षेत्र काठमाडौं र पोखरामा हुनुहुन्छ भने, सुरक्षित स्थानमा बस्नु होला ।’

अमेरिकाले अफगानिस्तान, बेलारुस, बुर्किना फासो, म्यानमार, सेन्ट्रल अफ्रिकन रिपब्लिक, गाजा, हैटी, इरान, इराक, लेबनान, लिबिया, माली, नर्थ कोरिया, रसिया, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, युक्रेन, भेनेजुएयला, यमनका लागि लेभल ४ को ट्राभल एड्भाइजरी जारी गरिसकेको छ ।

लेभल ३ को ट्राभल एड्भाइजरी जारी गरेका देशमा नेपालसँगै बंगालादेश, बुरुण्डी, चाड, कोलम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथोपिया, ग्वाटेमाला, गिनी बिसाउ, गायना, होण्डुरस, इजरायल, जेरुसेलम, मौरिटानिया, न्यू क्यालेडोनिया, निकारागुवा, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुवा न्युगिनी, ट्रिनिडाड एण्ड टोबागो, युगाण्डा र वेष्ट बैंक छन् ।

अमेरिकाले विभिन्न देशमा भ्रमणमा रहेका आफ्ना नागरिकका लागि चार लेभलमा ट्राभल एडभाजरी जारी गर्दै आएको छ । जुन देश बारे ब्युरोले लेभल चारसम्म एडभाजरी जारी गर्दछ, त्यो देशमा आफ्ना नागरिकलाई यात्रानै नगर्न सुचित गर्ने गर्दछ । यसअघि ब्युरोले कोरोनाकाल बाहेक २०२४ डिसेम्बर २८, २०२३ डिसेम्बर १८ मा पनि नेपाल यात्राबारे ट्राभल एडभाजरी जारी गरेको थियो ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully