तमिलनाडुमा शनिबार घटेको दुर्घटनाले फेरि एक पटक भारतमा भीड व्यवस्थापन र सार्वजनिक सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ । हाल घटनाको छानबिन जारी छ ।
चेन्नई — दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उनका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरबाहीको आरोप लगाइएको छ ।
शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भीड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो ।
भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ ।वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमले भने, 'मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।'
वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् ।
विजयले विज्ञप्ति जारी गर्दै भने, 'मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।'उनले प्रत्येक मृककका परिवारलाई २० लाख भारु र उपचाररत घाइतेहरुलाई २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतंक फैलिनुअघि गर्मीले हायलकायल आफ्ना समर्थकलाई पानीको बोतल फालिदिएको गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो ।
राज्य प्रहरी प्रमुख जी. वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगे ।
'मानिसहरूलाई तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनु पर्यो', उनले भने ।
दश हजार मानिस आउने अनुमान भए पनि झण्डै २७ हजार जनाको उपस्थिति भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो ।
सभामा पुगेर बँचेका १९ वर्षीय बी. कनिष्कले भने, 'अचानक भीडले मलाई तल धकेल्यो । म बेहोस भएँ ।'
अरू प्रत्यक्षदर्शीहरूले पनि खराब संगठन, लामो पर्खाइ र घटनास्थलमा प्रहरीको अभावले दुर्घटना निम्त्याएको बताएका छन् ।
स्थानीय मिडियाले रूखमा चढेका केही समर्थक तल खसेपछि आतंक फैलिएको उल्लेख गरेको छ ।
भारतमा भीड नियन्त्रणमा कमजोरीका कारण यसअघि पनि ठूला दुर्घटनाहरू भएका छन् । यस वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष सोही राज्यमा हिन्दु प्रार्थना सभाका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।
यसै वर्ष जुन महिनामा, बेङ्गलुरुमा क्रिकेट उत्सवका क्रममा ११ प्रशंसकले भिडले किचिएर ज्यान गुमाएका थिए ।
विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए । सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गर्दै उनले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो भीड जुट्ने गरेको छ ।
