दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयको पार्टी तमिलग वेत्त्रि कझगमको राज्यव्यापी यात्राको क्रममा शनिबार आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो ।
काठमाडौँ — दक्षिण भारतीय राज्य तमिलनाडुमा अभिनेता तथा राजनीतिज्ञ विजयले शनिबार आयोजना गरेको सभामा भागदौड हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको भारतीय अखबार द हिन्दुले उल्लेख गरेको छ । तीमध्ये ८ जना बालबालिका र १६ जना महिला रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
विजयको राजनीतिक पार्टी तमिलग वेत्त्रि कझगमको राज्यव्यापी यात्राको क्रममा आयोजित उक्त सभामा ठूलो भीड जम्मा भएको थियो । हजारौंको संख्यामा भीड जम्मा भएको स्थानमा भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो ।
विजय आगामी वर्षको सुरुवातमा हुने राज्य निर्वाचनको पूर्वतयारी स्वरूप प्रचारमा छन् ।
नजिकैका तिरुचिरापल्ली र सेलम जिल्लाबाट कम्तीमा ४४ जना चिकित्सकलाई करूर पठाइएको द हिन्दुले उल्लेख गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्भाग्यपूर्ण घटना अत्यन्तै दुखद रहेको जनाएका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स(पहिलेको ट्वीटर)मा लेखेका छन्, 'करुर, तमिलनाडुमा भएको राजनीतिक जुलुसका क्रममा घटेको यो दुःखद घटना अत्यन्त पीडादायक छ । यस घटनामा आफ्नो प्रियजन गुमाएका परिवारप्रति म समवेदना व्यक्त गर्दछु । यस कठिन समयमा उनीहरूलाई मानसिक शक्ति मिलोस् भन्ने कामना गर्दछु । घाइतेहरू चाँडै निको होऊन् भनेर प्रार्थना गर्दछु ।'
