लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागीहरू र सुरक्षाकर्मीबीच बुधबार हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने ९० जना घाइते भएका थिए ।
काठमाडौँ — भारतका चर्चित जलवायु एवं शिक्षासम्बन्धी अभियन्ता सोनम वाङ्चुक पक्राउ परेका छन् । उनलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा लगाइएको छ । उनी पक्राउ परेसँगै लद्दाखस्थित लेहमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लेहमा केही दिनयता चर्किएको जेन-जी आन्दोलनमा वाङ्चुकले साथ दिँदै आएका छन् । उनका मागलाई पनि जेन-जीले समर्थन गरेका छन् ।
लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागीहरू र सुरक्षाकर्मीबीच बुधबार हिंसात्मक झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने ९० जना घाइते भएका थिए ।
सन् २०१९ मा भाजपा नेतृत्व सरकारले जम्मु र कस्मिरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको प्रावधान खारेज गरी यिनलाई युनियन टेरेटरी अर्थात् केन्द्रले नै शासन गर्ने प्रदेशमा परिणत गरेको थियो । भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ ।
वाङ्चुकले सेप्टेम्बर १० मा लेहमा आमरण अनशन सुरु गरेका थिए । उनले छैटौँ अनुसूचीमा लद्दाखको समावेश, राज्यको मान्यता र वातावरण संरक्षणको माग राखेका थिए । तर, सेप्टेम्बर २४ को हिंसात्मक झडपपछि उनले अनशन तोडेका थिए ।
यसैबीच, आम आदमी पार्टी (आप) ले वाङ्चुकको गिरफ्तारीविरुद्ध शुक्रबार साँझ ७ बजे जन्तर-मन्तरमा दीप प्रज्वलन कार्यक्रम गर्ने घोषणा गरेको थियो । वाङ्चुकले जेन-जी विद्रोहबारे बोल्दै दक्षिण एसियाली देशमा युवाहरू जागरुक हुँदै आएको र पछिल्लो उदहारण नेपालको जेन-जी समूहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नै ढालिदिएको प्रतिक्रिया दिएका थिए ।
जम्मु र कस्मिरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले वाङ्चुकको गिरफ्तारीलाई दु:खद् भएको बताएका छन् । यसअघि भारतीय संविधानको धारा ३७० अन्तर्गत जम्मु र कस्मिर राज्यकै एक भागको रूपमा रहँदै आएको लद्दाखलाई भाजपा सरकारले दुई भागमा विभाजन गरी लद्दाख केन्द्र सरकारको मातहत रहने व्यवस्था गरेको थियो । अहिले त्यहाँ लेफ्टिनेन्ट गभर्नरले शासनको नेतृत्व गर्छन् भने केन्द्र सरकारकै तजबिजमा विभिन्न काम हुने गरेको छ ।
