अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले सात महिनाको अवधिमा अमेरिकाबाट निष्कासित गरिएका २ लाख ७९ हजार गैरकानुनी रुपमा आएका आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न देखिएको दाबी गरेको हो ।
What you should know
अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएयता सात महिना अवधिमा अमेरिकाबाट निष्कासित हुनेमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभाग युनाइटेड स्टेट्स इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)ले २०२५ जनवरी तेस्रोदेखि अगस्ट तेस्रोसम्म सात महिना अवधिमा अमेरिकाबाट निष्कासित गरिएका २ लाख ७९ हजार गैरकानुनी रुपमा आएका आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न देखिएको दाबी गरेको हो ।
आइसको तथ्यांकअनुसार आपराधिक गतिविधिमा संलग्न पुष्टि भएकामध्ये ४७ हजार ८ सय ८५ अपराधी करार भइ सजाय पाएका, १६ हजार ५ सय ५२ यौन अपराधमा संलग्न, २ हजार ६ सय ९९ हत्यामा संलग्न र २ सय ३७ जना आतंकवादी क्रियाकलापमा संलग्न रहेकाहरू निष्कासित भएका हुन् । सात महिना अवधिमा आइसद्वारा पक्राउ परेका र अमेरिकाबाट निष्कासित भएका २ लाख ७९ हजार गैरकानुनी आप्रवासीमध्ये ३३ प्रतिशत आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको आइसको उच्च निकाय होमल्याण्ड सेक्रेटरीकी सचिव क्रिष्टी नोएमले अमेरिकी सञ्चारमाध्यमहरुसँग बताएकी छन् ।
उनले भनिन्, ‘आपराधिक गतिविधिमा संलग्न देखिएकामध्ये केही गैरकानुनी आप्रवासीको आधारमा पक्राउपछि पुष्टि भएको र अधिकांश आपराधिक गतिविधिमा संलग्न भएको पुष्टिपछि पक्राउ परेका छन् ।’ नोएमले भनिन् । आइसले आफ्नो वेबसाइटमा ३४ जना जघन्य अपराधमा संलग्न फरार प्रतिवादीलाई मोस्ट वान्टेड सूचीम समेत राखेको छ । आपराधिक गतिविधिमा संलग्न भई फरार भएका ३४ जनालाई मोस्ट वान्टेडमा सूचीमा राखिएका मध्ये अधिकांश आप्रवासी भएको आइसको वेबसाइटमा उल्लेख गरिएको छ । मोस्ट वान्टेड सूचीमा रहेकाहरुबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने व्यवस्थासमेत गरिएको आइसले जनाएको छ ।
पियु रिसर्च सेन्टरको तथ्यांकअनुसार अमेरिकामा २०२५ जुन महिनासम्म ५ करोड १९ लाख (५१.९ मिलियन) आप्रवासीहरु छन् । यो संख्या अमेरिकाको जनसंख्याको १५.४ प्रतिशत हो ।
