परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोन उनसहित विश्वका २५ देशका नेता मञ्चमा सँगै देखिए ।
What you should know
काठमाडौँ — चीनले बुधबार आयोजना गरेको मिसाइल, लडाकु विमान र नयाँ हतियारसहितको परेडले विश्वको ध्यान बेइजिङतर्फ मोडेको छ । दोस्रो विश्वयुद्धका क्रममा चीनले जापानलाई पराजित गरेको ८० औं वर्ष पुगेको अवसरमा ‘भिक्ट्री डे परेड २०२५’ आयोजना गरिएको हो ।
चीनको शक्ति प्रदर्शनलाई विशेष गरी अमेरिका र पश्चिमा देशहरूले चासोका साथ नियालेका छन् । परेडमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोन उनसहित विश्वका २५ देशका नेता मञ्चमा सँगै देखिए ।
करिब दुई दर्जन विदेशी नेतासामु चिनियाँ राष्ट्रपति सीले परेडको अगुवाइ गरे । परेडमा कैयौं नयाँ हतियार पहिलो पटक सार्वजनिक गरियो, जसमा ड्रोन, मिसाइल र अत्याधुनिक विमान थिए । जमिन, समुद्र र आकाशमा प्रयोग हुने मिसाइल, ड्रोन र सटिक निसाना लगाउने अत्याधुनिक हतियार प्रदर्शन गरेर चीनले सैन्य शक्तिमा अरूभन्दा कम छैन भन्ने सन्देश दिएको छ । दोस्रो पटक निर्वाचित भएर आएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ वृद्धि र अन्य देशविरुद्ध कडा रवैया अपनाइरहेका बेला चीनको सैन्य शक्ति प्रदर्शनलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
विशेष गरी चीनको जेएल–१ न्युक्लियर मिसाइल र डीएफ–५ सी इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलले सबैको ध्यान तानेको छ । डीएफ–५ को रेन्ज १३ हजार किलोमिटरभन्दा बढी रहेको र यसले स्वतन्त्र रूपमा १० भन्दा बढी निसाना लगाउन सक्ने मिसाइल बोक्न सक्ने बताइएको छ । साथै, सीजे–१००० हाइपरसोनिक क्रुज मिसाइल र एचक्यू–२९ एन्टी ब्यालेस्टिक मिसाइल पनि सार्वजनिक गरियो । एचक्यू–२९ लाई अन्तरिक्षमा ब्यालेस्टिक मिसाइल र स्याटलाइट्सलाई निसाना लगाउन बनाइएको हो । यो चीनको डिफेन्स सिस्टमको मुख्य हतियार पनि हो ।
चीनले परेडका क्रममा आफ्नो नौसेना र वायुसेनाको नयाँ हतियार पनि प्रदर्शन गर्यो । जे–३५ र जे–१५ टी जस्ता कार्गो लडाकु विमान पहिलो पटक सार्वजनिक गरिएको हो । जे–३५ चीनको सबैभन्दा आधुनिक फाइटर जेट रहेको बताइएको छ । जसलाई समुद्रमा सुरक्षाका लागि बनाइएको हो । परेडमा देखाइएको एआईद्वारा सञ्चालन गर्न सकिने ड्रोन र मानवरहित प्रणालीले सबैलाई आश्चर्यमा पारेको छ, जसमा निगरानी र आक्रमण गर्न सक्ने ड्रोन, मानवरहित विङम्यान र सिपबोर्न हेलिकोप्टर पनि थिए ।
ठूलो क्षेत्रमा निगरानी राख्न र स्वचालित रूपमा समूहमा काम गर्न यस्ता अत्याधुनिक ड्रोन प्रयोग गर्न सकिनेछ । सेना र नौसेनाका लागि बनाइएका मानवरहित विमानले ल्यान्डमाइन पत्ता लगाएर नष्ट गर्ने, गोलाबारुद पुर्याउने र घाइतेको उद्धारमा समेत सहयोगी हुने बताइएको छ ।
सैन्य र आर्थिक रूपमा मुख्य प्रतिस्पर्धी रहेको अमेरिकाले चीनको यो सैन्य शक्ति प्रदर्शनलाई लिएर प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले चीनको सैन्यबल प्रदर्शनलाई लिएर आशंकायुक्त टिप्पणी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले चीनसँग मिलेर रुस र उत्तर कोरियाले अमेरिकाविरुद्ध षड्यन्त्र बुनिरहेको आरोप लगाए । ‘सबैभन्दा ठूलो प्रश्न हो, के चीनका राष्ट्रपति सी त्यो अपार समर्थन र रक्तपातको वर्णन गर्न सक्छन् ? अमेरिकाले चीनलाई विदेशी आक्रमणकारीबाट स्वतन्त्रता दिलाउन दिएको थियो,’ उनले लेखेका छन् ।
उनले चीनको विजय र गौरवका लागि कैयौं अमेरिकी सहिद भएको स्मरण गराएका छन् । ‘मलाई अपेक्षा छ, ती अमेरिकी सैनिकलाई साहस र बलिदानका लागि उचित सम्मानसहित सम्झना गरिनेछ,’ उनले भनेका छन्, ‘भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो शुभकामना । किनकि तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनुभएको छ ।’
राष्ट्रपति सीले परेडका क्रममा घुमाउरो तरिकाले अमेरिकालाई चेतावनी दिएका थिए । उनले अब कसैसँग नडराउने बताएका छन् । ट्रम्पको नाम नलिएरै आफूहरू कसैको धम्कीबाट नडराउने र जवाफ दिन सक्षम भएको उनले चेतावनी दिएका थिए । सोही कारण पनि ट्रम्पले पुटिन र किमसँग मिलेर सीले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।
चीनले अब एसियामा अमेरिकाको मनोमानी चल्दैन भन्ने सन्देश पनि स्पष्ट रूपमा दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले परेडमार्फत अब अमेरिकाको विकल्प आफू रहेको र विश्वमा गैरपश्चिमा देशहरूको नेतृत्वको दाबीसमेत शक्ति प्रदर्शनबाट देखाएको छ । पश्चिमा सञ्चारमाध्यमले सैन्य शक्ति प्रदर्शन र अमेरिकी प्रतिस्पर्धी नेतालाई एकै मञ्चमा उभ्याउनु चीनको कूटनीतिक प्रभाव रहेको र यसले ट्रम्पको ट्यारिफ र अस्थिर नीतिविरुद्ध एक हुन सहयोग गर्ने जनाएका छन् ।
यस साताको सुरुमै सीले क्षेत्रीय सुरक्षा सम्मेलन राखेर नयाँ विश्व व्यवस्थामा अमेरिकी आधिपत्य र धम्कीविरुद्ध एक हुनुपर्ने दृष्टिकोण राखेको थियो । चीनको सैन्य प्रदर्शनले अब प्रशान्त क्षेत्रमा अमेरिकी उपस्थिति पातलिँदै जाने सन्देश दिएको रोयटर्सले उल्लेख गरेको छ ।
ताइवानमा रहेको एटलान्टिक काउन्सिलको ग्लोबल चाइना हबका फेलो वेन ती सुङले शक्तिको टेबल बदलिएकामा सी विश्वस्त रहेको र अब चीन चालकको सिटमा आएको टिप्पणी गरेका छन् । ट्रम्पको अनिश्चित नीति र एकपक्षीयताकै कारण विश्वका अरू शक्तिशाली देश चीन नजिक पुग्न लागिरहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पनि बुधबारको परेडलाई चीनको स्थिति कस्तो छ, कति सामर्थ्य छ भनेर मात्रै नहेरिएको बरु अब चीन कता गइरहेको छ भनेर देखाउनु पनि रहेको टिप्पणी गरेको छ । – एजेन्सीको सहयोगमा
