गाउसावा समुदायनजिकै भएको उक्त दुर्घटनामा मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेको सगुमी क्षेत्रका प्रमुख सादु इनुवा मोहम्मदले जानकारी दिए । १ सयभन्दा बढी यात्रुका कारण अधिक भारले डुंगा रूखको ठुटोमा ठोक्किएर पल्टिएको बताइएको छ ।
अबुजा — नाइजेरियाको उत्तर–मध्यक्षेत्रको नाइजर राज्यमा मंगलबार डुंगा पल्टिँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । गाउसावा समुदायनजिकै भएको उक्त दुर्घटनामा मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेको सगुमी क्षेत्रका प्रमुख सादु इनुवा मोहम्मदले जानकारी दिए । १ सयभन्दा बढी यात्रुका कारण अधिक भारले डुंगा रूखको ठुटोमा ठोक्किएर पल्टिएको बताइएको छ ।
घटनाबारे जानकारी दिँदै बोर्गु स्थानीय प्रशासनका अध्यक्ष अब्दुल्लाही बाबा अराले मृतकको संख्या थपिन सक्ने बताए । दुर्घटनामा १० जना गम्भीर घाइते भएका छन् भने धेरै जना अझै हराइरहेको बताइएको छ । नाइजर राज्य आपत्कालीन व्यवस्थापन निकायका अनुसार उद्धारकर्मी र स्थानीय गोताखोरहरू हराइरहेकाको खोजीमा खटिएका छन् । नाइजेरियामा डुंगा दुर्घटना बारम्बार हुने गर्छन्, जसको प्रमुख कारणमा अत्यधिक भार, खराब मौसम र सञ्चालनमा त्रुटि रहेका छन् ।
