अफगानिस्तान भूकम्प : मृतकको संख्या १४ सय नाघ्यो

भूकम्पको केन्द्रबिन्दु जलालाबादबाट २७ किलोमिटर उत्तर पूर्वमा, कुनार प्रान्तमा ठूलो क्षति पुगेको पुष्टि।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Afghanistan earthquake: death toll exceeds 1400

काठमाडौँ — अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय भन्दा बढी पुगेको छ । आइतबार मध्यरात (सेप्टेम्बर १, ११:४७ बजे) पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट परी १ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै रोयटर्सले अन्य ३१ सय २४ जना घाइते भएको र ५४ सय भन्दा धेरै घर ध्वस्त भएको जनाएको छ । जलालाबादबाट २७ किलोमिटर उत्तर पूर्वमा केन्द्रबिन्दु रहेको भूकम्पले कुनार प्रान्तका सहरहरूमा ठूलो क्षति पुर्‍याएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ८ किलोमिटर गहिराइमा गएको थियो ।

अल-जजिराका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय संयोजकले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने मानवीय समूह अफगान रेड क्रिसेन्ट सोसाइटीले अझै धेरै मानिसहरू भग्नावशेषमा फसेको हुनसक्ने आशङ्का गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा पनि अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस बेला कम्तीमा ४ हजार जनाको ज्यान गएको तालिवान सरकारले बताएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully