गाजामा पत्रकार हत्याको विरोधमा २५० भन्दा बढी मिडिया एकजुट, दण्डहीनता अन्त्यको माग

यस अभियानअन्तर्गत आज प्रिन्ट मिडियाहरूले कालो पारिएका अग्र पृष्ठहरूमा मार्मिक सन्देशसहितका समाचारहरू प्रकाशन गरे भने ब्रोडकास्टर र रेडियो स्टेसनहरूले संयुक्त वक्तव्यसहित आफ्ना कार्यक्रमलाई केही समयका लागि रोके । अनलाइन सञ्चारमाध्यमहरूले पनि आफ्नो होमपेज वा ब्यानरहरूलाई कालो पारी यस अभियानमा समर्थन जनाए ।

भाद्र १६, २०८२

दया दुदराज

More than 250 media unite to protest the killing of journalists in Gaza, demand an end to impunity

What you should know

काठमाडौँ — गाजामा पत्रकारहरूमाथि भइरहेको आक्रमणको अन्त्यका लागि विश्वका २५० भन्दा बढी सञ्चारमाध्यमले एकसाथ प्रतिरोध जनाएका छन् ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ), ग्लोबल क्याम्पेनिङ मुभमेन्ट आभाज र अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को संयुक्त आह्वानमा सोमबार विश्वभरका ५० देशका २५० भन्दा बढी सञ्चारमाध्यमले एकसाथ प्रतिरोध जनाएका हुन् ।

यस अभियानअन्तर्गत आज प्रिन्ट मिडियाहरूले कालो पारिएका अग्र पृष्ठहरूमा मार्मिक सन्देशसहितका समाचारहरू प्रकाशन गरेका छन् । यसैगरी, ब्रोडकास्टरहरू र रेडियो स्टेसनहरूले संयुक्त वक्तव्यसहित आफ्नो कार्यक्रमलाई केही समयका लागि रोकेका छन् । अनलाइन सञ्चारमाध्यमहरूले पनि आफ्नो होमपेज वा ब्यानरहरूलाई कालो पारी यस अभियानमा समर्थन जनाएका छन् । अभियानमा कुन-कुन सञ्चारमाध्यम सहभागी छन् हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस अभियानमा नेपालबाट हिमालखबर डटकमले सहभागिता जनाएको छ । अभियानका संयोजकहरूले प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा, गाजाबाट बाहिरिन चाहने पत्रकारहरूको आपत्कालीन उद्धार, इजरायली अपराधका लागि दण्डहीनताको अन्त्य र विदेशी प्रेसलाई यस क्षेत्रमा स्वतन्त्र पहुँचको माग गरेका छन् ।

आरएसएफका महानिर्देशक थिबाउट ब्रुटिनले भने–'गाजामा इजरायली सेनाद्वारा पत्रकारहरूको हत्या भइरहेको दरले विश्वलाई जानकारी दिने कोही पनि बाँकी रहने छैनन् । यो गाजाको युद्ध मात्र होइन,यो पत्रकारिता माथिकै युद्ध हो ।'

अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि गाजामा मरियामजस्ता सयौँ पत्रकार मारिएका छन् । संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांकअनुसार, लगभग २२ महिनादेखि जारी यो युद्धमा परेर कम्तीमा २४७ प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । आभाजका अभियान निर्देशक एन्ड्रयू लेगनले गाजालाई जानीजानी पत्रकारहरूको लागि चिहानमा परिणत गरिएको बताए । लेगनले भने– 'यदि अन्तिम साक्षीहरूलाई चुप लगाइयो भने, हत्या रोकिने छैन, यो केवल अदृश्य हुनेछ । त्यसैले आज हामी विश्वभरका न्यूज रूमहरूसँग एकजुट भएर भनिरहेका छौं: हामी यस्तो हुन दिने छैनौं !'

अन्तर्राष्ट्रिय पत्रकार महासंघका महासचिव एन्थोनी बेलान्जरले पत्रकारको हत्याले जनताहरु जान्न पाउने अधिकारबाट वञ्चित हुने बताए । 'उनीहरूले विश्वलाई सत्य देखाउनको लागि सबै कुरा जोखिममा पारे र आफ्नो ज्यान गुमाए। यस युद्धको परिणाम स्वरूप जनताको जान्ने अधिकारमा गहिरो क्षति पुगेको छ,' उनले भने, 'हामी न्याय र पत्रकारहरूको सुरक्षा तथा स्वतन्त्रता सम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय महासन्धिको माग गर्दछौं।' यो अभियानले अन्तर्राष्ट्रिय समुदायलाई गाजाका पत्रकारहरूको सुरक्षाका लागि तत्काल कदम चाल्न र यस द्वन्द्वमा पत्रकारिताको भूमिकालाई सम्मान गर्न आह्वान गरेको छ ।

अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि गाजामा मरियामजस्ता सयौँ पत्रकार मारिएका छन् । संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांकअनुसार, लगभग २२ महिनादेखि जारी यो युद्धमा परेर कम्तीमा २४७ प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । त्यस्तै, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार, गाजामा पत्रकारहरूको मृत्यु संख्या सबैभन्दा उच्च देखिएको छ । सीपीजेले अगस्ट २५, २०२५ सम्ममा १९७ पत्रकार र मिडियाकर्मी मारिएको पुष्टि गरेको छ । मारिनेहरूमध्ये १८९ जना प्यालेस्टिनी थिए ।

अमेरिकाको ब्राउन युनिभर्सिटीको वाट्सन इन्स्टिच्युटले अप्रिलमा यो युद्धलाई ‘रिपोर्टरहरूका लागि अहिलेसम्मकै सबैभन्दा खराब द्वन्द्व’ रहेको जनाएको छ । गाजामा मारिएका पत्रकारहरूको संख्या अमेरिकी गृहयुद्ध, पहिलो र दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध र अफगानिस्तान युद्धमा मारिएका कुल पत्रकारभन्दा बढी रहेको अमेरिकाको ब्राउन युनिभर्सिटीको रिपोर्टले देखाएको छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully