इजरायलका रक्षामन्त्रीले हमासका वरिष्ठ सदस्य उबैदालाई लक्षित गरिएको आक्रमण सफल भएको भन्दै आईडीएफलाई बधाई दिएका छन्।
काठमाडौँ — हमासका प्रवक्ता अबु उबैदा गाजा शहरमा गरिएको एक हवाई आक्रमणमा मारिएको इजरायलले दाबी गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल कात्जले एक्समा एक पोस्ट लेख्दै इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी शिन बेटले यस आक्रमणलाई सफल पारेको भन्दै बधाई दिएका छन् ।
यद्यपि हमासले अहिलेसम्म उबैदाको मृत्युको पुष्टि गरेको छैन । प्यालेस्टाइनको यो सशस्त्र समूहले पहिले सरकारी संरचनामा भएको इजरायली हवाई आक्रमणमा दर्जनौं नागरिक मारिएको र कैयौं घाइते भएको बताएको थियो ।
स्थानीय सञ्चारकर्मीहरुका अनुसार गाजाको घना बसोबास रहेको अल–रिमाल क्षेत्रमा भएको आक्रमणका कम्तिमा सात जनाको मृत्यु हुनुका साथै २० अन्य घाइते भएका छन् । जसमा बालबालिका पनि रहेका छन् ।
कात्जले आइतबार उबैदा र अन्य कैयौं अपराधिक साझेदारलाई निशाना बनाउने चेतावनी दिएका छन् । गाजामा अभियान तीव्र बनाउँदै गरिएको उनको भनाइ छ ।
उबैदा हमासका सैन्य विङ्गका वरिष्ठ सदस्यहरुमध्ये एक हुन्, सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमणभन्दा अघिदेखि हमाससँग जोडिएका थिए ।
