अफगानिस्तान भूकम्प: कम्तिमा ६१० जनाको मृत्यु, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

तालिबानको गृहमन्त्रालयले पूर्वी क्षेत्रमा आएको भूकम्पमा परी ६१० जनाको मृत्यु भएको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरिएको छ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Afghanistan Earthquake: At Least 610 Dead, Appeal From International Community For Help

काबुल — अफगानिस्तानमा आइतबार राति गएको ६ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ६१० जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यस्तै १३ सय भन्दा बढी घाइते भएका छन् ।

तालिबान सरकारको गृहमन्त्रालयले अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको जानकारी दिएको छ । 

अफगानिस्तानको नांगरहार र कुनार प्रान्तमा आइतबार राति स्थानीय समयअनुसार ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको गहिराई ८ किलोमिटर रहेको थियो । 

पहिलो भूकम्पपछि आएका लगातारका शक्तिशाली पराकम्पका कारण ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पका झड्का अफगानिस्तानको राजधानी काबुलसहित पाकिस्तानको राजधानी इस्लामावादसम्म महशुस गरिएको थियो । 

कुनारमा सबैभन्दा धेरै क्षति भएको बताइएको छ । यहाँ करिब ९० प्रतिशत भूभाग पहाडी क्षेत्र रहेको छ । भूकम्प प्रभावित क्षेत्रसम्म जाने बाटो निकै साँघुरो रहेको र कैयौं भूस्खलनका कारण अवरुद्ध भएको बताइएको छ । 

तालिबानका अधिकारीहरुका अनुसार आफूहरुसँग सीमित स्रोत साधन रहेको र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully