टोकियो पुगेर मोदीले भने : जापानको टेक्नोलोजी र भारतको ट्यालेन्टले प्रविधि क्रान्तिको नेतृत्व गर्न सक्छ 

ट्रम्पसँग टकराव चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदी जापान पुगेर भारत विश्वकै तीव्र रूपमा अघि बढिरहेको अर्थतन्त्र भएको बताएका छन् । 

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

After reaching Tokyo, Modi said: Japan's technology and India's talent can lead the technology revolution

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन् । मोदी जापान र चीन गरी चार दिवसीय भ्रमणका क्रममा रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार र ट्यारिफ नीतिका कारण भारत-अमेरिका सम्बन्ध चिसिएका बेला मोदी जापान पुगेका हुन् । 

शुक्रबार इन्डिया-जापान ज्वाइन्ट इकोनमिक फोरमलाई सम्बोधन गर्दै मोदीले भारतको विकासमा जापान सधैं नै महत्त्वपूर्ण साझेदारका रूपमा रहेको बताए । उनले भने, 'मेट्रोदेखि उत्पादनसम्म, सेमिकन्डक्टरदेखि स्टार्टअपसम्म, हरे क्षेत्रमा हाम्रो साझेदारी आपसी विश्वासको प्रतीक बनेको छ ।' साथै भारतमा राजनीतिक र आर्थिक स्थिरता भएको उल्लेख गर्दै पारदर्शी नीति रहेको मोदीले बताए । उनले अगाडि भने, 'आज भारत विश्वको सबैभन्दा बढी वृद्धि भइरहेको मुख्य अर्थतन्त्र हो । र, छिट्टै नै विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्दै छ ।'

मोदीले व्यावसायिक वातावरणको सूचकांक(इज अफ डुइङ बिजनेस) मा जोड दिएको बताउँछन् । भारतले एआई, सेमिकन्डक्टर, क्वान्टम कम्प्युटिङ, बायोटेक र स्पेसमा महत्त्वाकांक्षी सुरुवात गरेको मोदीले बताएका छन् । उनले अगाडि भने, 'जापानको टेक्नोलोजी र भारतको ट्यालेन्टले यस शताब्दीको प्रविधि क्रान्तिको नेतृत्व गर्न सक्छ ।'

जापान भ्रमणपछि मोदी सांघाई सहयोग संगठन(एससीओ) को बैठकमा सहभागी हुन चीन जानेछन् । चीनमा मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भेट्ने कार्यक्रम रहेको छ । एससीओ बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका २६ देशका राष्ट्र प्रमुख सहभागी हुने बताइएको छ । 

कान्तिपुर

Link copied successfully