रुस-युक्रेन युद्धलाई ट्रम्पका सल्लाहकारले दिए ‘मोदी युद्ध’ को संज्ञा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वाणिज्य सल्लाहकार पिटर नभारोले रुस-युक्रेन युद्धलाई ‘मोदी युद्ध’ को संज्ञा दिएका छन् । यी दुई देशबीच शान्ति स्थापनाको मार्ग नयाँ दिल्ली हुँदै अघि बढ्ने उनको भनाइ छ ।

भाद्र १२, २०८२

एजेन्सी

Russia-Ukraine war has been termed as 'Modi War' by Trump's advisor

What you should know

काठमाडौँ — अमेरिकाले भारतीय वस्तुहरूमा ५० प्रतिशत भन्सार महुसल लागू गरेको भोलिपल्ट नभारोले यस्तो अभिव्यक्ति दिएका हुन् । अमेरिका र भारतबीचको सम्बन्धमा अहिले ऐतिहासिक कटुता देखापरेको छ । ब्लुमबर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा नभारोले भारतको गतिविधिका कारण अमेरिकीहरूले घाटा बेहोर्नु पर्ने बताएका छन् ।

‘भारतीय वस्तुमा लागेको उच्च कर (ट्यारिफ) का कारण अमेरिकी उपभोक्ता, व्यवसाय र मजदुरहरूले रोजगारी, कारखाना र आम्दानी गुमाउनेछन्,’ उनले भनेका छन्, ‘हामीले मोदीको युद्धलाई आर्थिक सहयोग गर्नुपरेकाले हाम्रा करदाताले पनि गुमाइरहेका छन् । शान्तिको बाटो केही हदसम्म नयाँ दिल्ली हुँदै जान्छ ।’  अन्तर्वार्ताकारले ‘पुटिनको युद्ध भन्न खोज्नु भएको हो ?’ भनेर सोध्दा उनले स्पष्टसँग ‘मोदीको युद्ध’ भन्ने वाक्य दोहोर्‍याएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

नभारोका अनुसार भारतले रुसी तेल किन्न छोड्ने कुनै संकेत दिएको छैन । मोदी ‘महान नेता’ भएकाले उनले किन यस्तो गरिरहेका छन् भन्नेमा आफू रनभुल्लमा परेको पनि नभारोले बताएका छन् । ‘भारतले रुसी तेल किन्न छोडे भोली नै २५ प्रतिशत भन्सार कर छुट पाउनेछ,’ उनले भनेका छन्, ‘भारतीय प्रशोधनकर्ताहरूले रुसी प्रशोधनकर्ताहरूसँगको साझेदारीमा बाँकी विश्वलाई महँगोमा तेल बेच्छन् । रुसले त्यो पैसा युद्ध हतियारमा लगानी गर्दै युक्रेनीहरू मार्न प्रयोग गर्छ । अर्को कुरा, युक्रेन भने अमेरिका र युरोपेली देशसँग पैसा मागिरहेको हुन्छ । त्यसकारण भारतले जे गरिरहेको छ, यसले गर्दा अमेरिका घाटा छ ।’ 

दिल्लीका लागि भारतीय राजदूत विनय कुमारले भने भारतका १.४ अर्ब नागरिकको ऊर्जा सुरक्षा र अन्य देशसँगजस्तै रुससँग भारतको सहकार्यले विश्वव्यापी इन्धन बजारमा स्थायित्व कायम गरेको प्रतिकृया दिएका छन् । केही समयअघि मात्रै रुस गएका भारतिय परराष्ट्रमन्त्री एस जयशंकरले पनि अमेरिकी ट्यारिफलाई लिएर आफूहरू ‘धेरै हैरान’ मा परेको बताएका थिए । ‘रुसबाट तेल किन्न लगायत काम गरेर विश्व ऊर्जा बजारलाई स्थिर राख्नुपर्छ भनेर अमेरिकीहरूले नै हामीलाई भन्दै आएका थिए,’ जयशंकरको भनाइ थियो, ‘अमेरिकी निर्णय अनुचित, तर्कहीन र अन्यायपूर्ण छ ।’  

अमेरिकी सरकारले भारतीय आयातमा लगाएको ५० प्रतिशत ट्यारिफ (भन्सार महसुल) बुधबारदेखि कार्यान्वयनमा आएको छ । भारतले रुसबाट इन्धन खरिद गरेर रुसलाई युक्रेनसँगको युद्धमा सघाइरहेको अमेरिकाको आरोप छ । भारतले भने ‘स्वदेशी अभियान’ मजबुत बनाउने र जतिसुकै दबाब आए पनि सामना गर्ने अठोट लिएको छ । 

एजेन्सी

Link copied successfully