विदेशी विद्यार्थी र पत्रकारको अमेरिका बसाइमा कटौती हुने

विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न नपाउने र विदेशी पत्रकारको बसाइको हकमा २४० दिन मात्र प्रस्ताव गरिएको छ, चिनियाँ पत्रकारलाई भने ९० दिनको मात्र भिसा

भाद्र १२, २०८२

रासस/एएफपी

Foreign students and journalists will be curtailed in the United States

What you should know

वासिङ्टन — अमेरिकी प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई अमेरिकामा कति समयसम्म बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।

विदेशी पत्रकारको बसाइको हकमा भने २ सय ४० दिन मात्र बनाइने प्रस्ताव गरिएको छ, यद्यपि उक्त समयपछि पनि पत्रकारले थप २ सय ४० दिनसम्म समयावधि बढाउनका लागि आवेदन दिन सक्ने बताइएको छ । चिनियाँ पत्रकारहरूले भने ९० दिनको भिसा मात्र पाउने छन् ।

अमेरिकाले हाल सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रम वा पत्रकारको कामको अवधि हेरेर भिसा जारी गर्दै आएको छ, यद्यपि कुनै पनि गैरआप्रवासी भिसा १० वर्षभन्दा बढीका लागि मान्य हुँदैन । फेडरल रजिस्टरमा प्रकाशित प्रस्तावित परिवर्तनहरू लागू हुनुअघि सार्वजनिक टिप्पणीका लागि राखिएको छ । ट्रम्पको ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ ले अनिर्दिष्ट संख्यामा रहेका विदेशी विद्यार्थीले अनिश्चितकालसम्मका लागि आफ्नो अध्ययन लम्ब्याएको आरोप लगाएको छ । ‘विगतको प्रशासनले विदेशी विद्यार्थी र अन्य भिसा वाहकलाई अनिश्चितकालका लागि अमेरिकामा बस्न अनुमति दिएको छ, जसले सुरक्षा जोखिम निम्त्याएको छ, करदाताको डलर खर्च गरेको छ र अमेरिकी नागरिकलाई असुविधा भएको छ,’ विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वाणिज्य विभागको तथ्यांकअनुसार २०२३ मा अमेरिकी अर्थतन्त्रमा ५० अर्ब डलरभन्दा बढी योगदान पुर्‍याएका अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी नागरिक र करदातालाई कसरी चोट पुर्‍याएका छन् भन्नेबारे विभागले केही बताएको छैन । संयुक्त राज्य अमेरिकाले २०२३ र २०२४ को शैक्षिक सत्रमा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसा प्रदान गरेको छ, जुन कुनै पनि अन्य देशको तुलनामा बढी हो । विदेशी विद्यार्थीले सामान्यतया पूर्ण ट्युसन शुल्क तिर्ने हुँदा यसले राजस्व संकलनमा पनि ठूलो योगदान पुर्‍याउँदै आएको छ ।

अमेरिकी कलेज र विश्वविद्यालयको नेतृत्व गर्ने एक समूहले अमेरिकी प्रशासनको पछिल्लो कदमलाई अनावश्यक नोकरशाही अवरोधका रूपमा निन्दा गर्दै यसले शैक्षिक निर्णय प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएको छ । यसले सम्भावित विद्यार्थीलाई थप रोक्न सक्ने र रोजगारी सिर्जनामा अवरोध पुर्‍याउन सक्ने देखिन्छ । ‘यो प्रस्तावित नियमले विश्वभरका प्रतिभाशाली व्यक्तिहरूलाई अमेरिकामा उनीहरूको योगदानको कदर गरिएको छैन भन्ने सन्देश दिन्छ,’ उच्च शिक्षा र आप्रवासनसम्बन्धी ‘प्रेसिडेन्ट्स एलायन्स’ का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिरियम फेल्डब्लम भन्छन्, ‘यो अन्तर्राष्ट्रिय विद्यार्थीका लागि मात्र हानिकारक छैन, यसले अमेरिकी कलेज र विश्वविद्यालयहरूको उच्च प्रतिभालाई आकर्षित गर्ने क्षमतालाई पनि कमजोर पार्छ, यसले हाम्रो विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतालाई कम गर्छ ।’

ट्रम्प प्रशासनले यसअघि चालेका कदमपछि विश्वविद्यालयहरूले आफ्नो शैक्षिक सत्र सुरु गर्न थालेको र धेरैले अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना कम भएको रिपोर्ट गरिरहेका बेला यो घोषणा गरिएको हो । यद्यपि, ट्रम्पले यसै साता मात्रै आफ्ना समकक्षी सी चिनफिङसँगको सम्बन्धको प्रशंसा गर्दै अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या भने दोब्बर गरेर ६ लाखसम्म पुर्‍याउने बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि चिनियाँ विद्यार्थीको भिसा ‘आक्रामक’ रूपमा रद्द गर्ने यसअघिको प्रतिबद्धताबाट पछि हटेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले गत साता ट्रम्पले पदभार ग्रहण गरेयता ६ हजार विद्यार्थीको भिसा रद्द गरेको बताएको थियो ।

ट्रम्पले विश्वविद्यालयहरूलाई दिइने संघीय अनुसन्धान कोषको अर्बौं डलर पनि निलम्बन गरेका छन् । अमेरिकी संसद् (कंग्रेस) ले पनि निजी विश्वविद्यालयहरूको अनुदानमा तीव्र रूपमा कर बढाएको छ । आफू निर्वाचित हुनुअघि एक सम्बोधनमा उपराष्ट्रपति जेडी भान्सले कन्जरभेटिभहरूले विश्वविद्यालयहरूमाथि आक्रमण गर्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यमा पत्रकार भिसाको समयावधि घटाउने प्रस्ताव गरे पनि उनका उत्तराधिकारी जो बाइडेनले उक्त प्रस्ताव खारेज गरेका थिए ।

रासस/एएफपी

Link copied successfully