रुससँग तेल खरिद गरेको आरोपमा बुधबारदेखि भारतमाथि अमेरिकी ट्यारिफ लागू भएको छ, नयाँ जाने सामान मात्र नभइ यसअघि लिएर गोदाममा राखिएका सामानमासमेत ट्यारिफ लागू हुनेछ।
काठमाडौँ — अमेरिकी सरकारले भारतविरुद्ध लगाएको अतिरिक्त २५ प्रतिशत ट्यारिफ आजदेखि लागू भएको छ । अमेरिकाले यसका लागि आधिकारिक नोटीफिकेशनसमेत जारी गरेको छ ।
यो ट्यारिफ बुधबार अर्थात आजदेखि भारतीय समयअनुसार बिहान साढे ९ बजेदेखि लागू भएको छ । पहिलो २५ प्रतिशत रहेकोमा रुससँग तेल खरिद गरेको भन्दै २५ प्रतिशत थप गरी ५० प्रतिशत ट्यारिफ लागू गरेको हो ।
नोटिसमा भनिएको छ, ‘२७ अगष्ट २०२५ र त्यसपछि प्रयोगका लागि आउने वा गोदामबाट निकालिने कुनै पनि भारतीय सामान वृद्धि भएको ट्यारिफमा आउनेछ ।’
रुसबाट कच्चा तेल खरिद गरेर यक्रेनविरुद्ध हतियार खरिदका लागि भारतले सहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध ५० प्रतिशत कर लगाएका हुन् ।
