इजरायली हवाई हमलामा यमनमा ६ को मृत्यु

हमलामा ८६ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

भाद्र ९, २०८२

एजेन्सी

Israeli airstrikes kill 6 in Yemen

साना — यमनको राजधानी सानामा आइतबार भएको इजरायली हवाई हमलामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएको हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । घाइतेमध्ये ७ जना बालबालिका र ३ महिला छन् । घाइते २१ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने हुथी अधिकारीहरूले बताएका छन् ।

हुथीका अनुसार हमलाले इन्धन र पावर स्टेसनहरू, राष्ट्रपति दरबार परिसर र अन्य नागरिक सुविधाहरूलाई लक्षित गरेको थियो । इजरायली रक्षामन्त्री इजरायल काट्जले हमलाको पुष्टि गरे । इजरायलको स्वामित्वमा रहेको कान टीभीले १४ वटा लडाकु विमानद्वारा हमला गरिएको तथा करिब ४० वटा बम प्रहार भएको उल्लेख गरेको छ । हुथी समूहले हमलालाई ‘क्रूर आक्रमण’ भन्दै इजरायल र संयुक्त राज्य अमेरिका दुवैलाई ‘जघन्य अपराध’ को आरोप लगाएको छ । साथै, उसले प्रतिशोधमा आक्रमण गर्ने चेतावनी पनि दिएको छ ।

यसअघि हुथीहरूले तेल अविवमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । ती क्षेप्यास्त्रले सर्वसाधारणका घरमा क्षति पुर्‍याए पनि कसैको मृत्यु भने भएन । हुथीहरूले उत्तरी यमनको धेरै भाग नियन्त्रणमा लिँदै २०२३ नोभेम्बरदेखि गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमाथि बारम्बार हमला गर्दै आएका छन् । इजरायलले पनि हुथीको कब्जामा रहेका क्षेत्रमा जवाफी हवाई हमला गर्दै आएको छ ।

एजेन्सी

Link copied successfully