अलास्कामा पुटिनसँगको भेटपछि ट्रम्पले रूस-युक्रेन युद्धलाई लिएर अमेरिकाको भूमिकाबारे नयाँ नीतिको संकेत गरेका छन्।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आगामी दुई साताभित्र युक्रेन युद्धमा शान्तिपूर्ण समाधानको दिशामा कुनै ठोस प्रगति देखिएन भने रुसविरुद्ध कडा प्रतिबन्ध या ट्यारिफ लगाउने निर्णय गर्ने चेतावनी दिएका छन् ।
१५ अगष्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटको एक सातापछि ट्रम्पको यस्तो धम्की आएको हो ।
व्हाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म एक निकै महत्त्वपूर्ण निर्णय लिन गइरहेको छ । चाहे ठूलो मात्रामा प्रतिबन्ध या ट्यारिफ दुवै हुनसक्छ । या त हामी यो पनि भन्न सक्छौं यो अमेरिकाको लडाइँ होइन, तिमीहरुकै हो ।’
उनले युक्रेनमा हालै एक अमेरिकी कारखानामा भएको रुसी आक्रमणबारे आक्रोश व्यक्त गरेका छन् । उक्त आक्रमणबाट कारखानामा आगो लाग्नुका साथै दुई कर्मचारी घाइतेसमेत भएका थिए । उनले भने, ‘यसबाट म खुसी छैन ।’ ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘रुस–युक्रेन युद्धमा जे–जे भइरहेको छ । त्यसबाट म प्रश्न छैन । आगामी दुई सातामा यो युद्ध कता जानेछ भन्ने स्पष्ट हुनेछ ।’
उनले दुवै देशका नेताहरु एकैठाउँमा बसेर कुरा गर्नुपर्नेमा जोड दिएका छन् । ‘दुवै नेता एकसाथ बसेर कुरा गरुन् भन्ने चाहन्छु । यदि उनीहरु यस्तो गर्दैनन् भने यस्तो किन भइरहेको छ भन्ने कुरा मैले नै विचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यस्तै उनले आफ्नो कार्यकालमा आफूले सातवटा युद्ध रोकेको र सम्भावित तीन युद्धलाई टालेको बताएका छन् । उनले भने, ‘मलाई यो युद्धबाट कुनै प्रशन्नता छैन । आगामी दुई सातामै थाहा हुनेछ यो युद्ध कता जाँदैछ भन्ने कुरा ।’
यसअघि १८ अगष्टमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपियन देशका नेताहरुका साथमा व्हाइट हाउस पुगेका थिए । रुससँग युद्ध तत्काल अन्त्यका लागि उनले युरोपिन देशका नेताहरुलाई साथमा लिएका थिए । ट्रम्पले आफूले पुटिन र जेलेन्स्कीसँगको भेटवार्ता हुने व्यवस्था बनाएको दाबी गरेका थिए ।
