ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नयाँदिल्ली — भारतको पूर्वी राज्य बिहारमा शनिबार अटोरिक्सा र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । बिहारको राजधानी पटनाको दनियावन–हिल्सा राजमार्गमा उक्त दुर्घटना भएको हो ।
‘विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,’ एक वरिष्ठ प्रहरी अधिकारीले भने । अटोरिक्सा चालकसहित यसमा सवार यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ । तीन जनालाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । मृत्यु भएकामध्ये ९ जना महिलासहित अटोरिक्सा चालक रहेको र बाँकी घाइते ट्रकमा आएकाहरू रहेको अधिकारीले बताएका छन् ।
ट्रक चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनापछि ट्रक चालक फरार छन् । दुर्घटनाका कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ । ट्रक चालकलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ ।
