ह्वाइट हाउसले सुरु गर्‍यो टिकटक एकाउन्ट

ट्रम्पले टिकटकको अमेरिकी स्वामित्व बेच्न समयसीमा पुनः बढाएपछि सांसदहरूले राष्ट्रिय सुरक्षा चिन्ताको अवहेलना भएको आरोप लगाएका छन्।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

The White House launched a TikTok account

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास, ह्वाइट हाउसले मंगलबार आफ्नो आधिकारिक टिकटक एकाउन्ट सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य राष्ट्रपति डोनाल्ड ट्रम्पका सन्देशहरूलाई टिकटकका १७ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूसम्म पुर्‍याउनु रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।  

‘अमेरिका हामी फर्कियौँ ! के छ हालखबर, टिकटक ?’ यस्तो क्याप्सनसहित ह्वाइट हाउसको टिकटक एकाउन्टमा २७ सेकेन्डको भिडियो क्लिप राखिएको छ । पोस्ट राखेको एक घन्टापछि एकाउन्टमा ४ हजार ५ सय फलोअर्स पुगेका थिए । टिकटकमा ट्रम्पको निजी एकाउन्टमा भने १ करोड ५१ लाख फलोअर्स छन् । तथापी, ट्रम्पले सन् २०२४ को नोभेम्बर ५ यता टिकटकमा नयाँ पोस्ट गरेका छैनन् । 

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराएर युवा मतदाताको समर्थन जित्न टिकटकले सहयोग गरेको भन्दै ट्रम्प यस भिडियो सेयरिङ एपप्रति नरम छन् ।   

अमेरिकी सांसदहरूले भने टिकटकले आफ्ना प्रयोगकर्ताको तथ्यांक चीन सरकारलाई उपलब्ध गराउने भन्दै चिन्ता व्यक्त गरेका छन् । ट्रम्पले टिकटकको चिनियाँ कम्पनी बाइटडान्सबाट अमेरिकी लगानीकर्ताहरूलाई एप खरिद गराउनेबारे एउटा सम्झौता गर्ने प्रयास गरिरहेका छन् ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पले अमेरिकी जनतालाई दिएका ऐतिहासिक सफलताहरू सकेसम्म धेरै दर्शक र प्लाटफर्ममा पुर्‍याउन ट्रम्प प्रशासन प्रतिबद्ध छ ।’

सन् २०२४ मा बनेको एउटा कानुनअनुसार बाइटडान्सले यस वर्षको जनवरी १९ सम्ममा टिकटकको अमेरिकी स्वामित्व स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने नभए टिकटकमाथि प्रतिबन्ध लागू हुनुपर्ने थियो । ट्रम्पले जनवरी २० मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि यो कानुन लागू गरेनन् । उनले सुरुमा समयसीमा अप्रिलको सुरुसम्म, त्यसपछि जुन १९ सम्म र फेरि सेप्टेम्बर १७ सम्म बढाए ।

यो समयसीमा बढाइएकोमा केही सांसदहरूले आलोचना गरेका छन् । उनीहरूका अनुसार ट्रम्प प्रशासनले कानुनको अवज्ञा गरिरहेको छ र टिकटकमाथि चीनको नियन्त्रणसँग सम्बन्धित राष्ट्रिय सुरक्षाको चिन्तालाई बेवास्ता गरिरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully