पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु

गत साता मात्रै वर्षाले सिंगो गाउँ बगाउँदा पाकिस्तानमा ४०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

भाद्र ४, २०८२

एएफपी

20 dead due to monsoon rains in Pakistan

कराची — पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिंगो गाउँ बगाउँदा ४०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार गिलगिट–बाल्टिस्तानको  उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ ।

मौसम विभागले शनिबारसम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालयहरू बन्द रहेका छन् ।

सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताएका छन् । 

दुई जिल्लामा वर्षाका कारण ४० देखि ५० वटा घरहरू क्षतिग्रस्त भएको प्रान्तीय विपद् अधिकारी मुहम्मद युनसले बताएका छन् । 

गत बिहीबारदेखि अफगानिस्तानको सिमानामा रहेको पाहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा ३५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरु तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँहरूमा दर्जनौँ बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको जनाएका छन् । 

राहत शिविरहरू स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका  सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

यसैबीच अधिकारीहरूले सेप्टेम्बरको मध्यसम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् ।

अधिकारीहरूका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि बर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ ।

मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणामस्वरूप लगभग १,७०० जनाको मृत्यु भएको थियो ।

एएफपी

Link copied successfully