अमेरिकामा औपचारिक रुपमै फुट्यो एनआरएनए

दुई फरक मितिमा भएको निर्वाचन प्रक्रियाबाट २०२५–२०२७ का लागि दुई वटा कार्यसमिति चयन गरेसँगै अमेरिकामा एनआरएनए विधिवत् रुपमै फुटेको हो ।

भाद्र ३, २०८२

सुदीप शिवाकोटी

NRNA officially broke up in America

What you should know

अमेरिका — गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका औपचारिक रुपमै विभाजित भएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा देखिएको विवाद र फुटको असरका कारण एनसीसी अमेरिका औपचारिक रुपमै फुटेको हो । 

दुई फरक निर्वाचन र भिन्न कार्यसमिति निर्माणसँगै अमेरिकामा अगस्त १८ (सोमबार)बाट एनआरएनए दुई भागमा फुटेको हो । २८ जुलाईमा विकास उप्रेतीको अध्यक्षतामा २०२५–२०२७ का लागि नयाँ कार्यसमिति चयन भएको एनआरएनए अमेरिकामा सोमबार अगस्त १८ मा सतेन्द्र साहको अध्यक्षमा अर्को कार्यसमिति चयन गरिएको छ ।

सन् २०२२ मा सम्पन्न १०औं महाधिवेशनपछि एनआरएनए आईसीसीमा विवाद सुरु भएको थियो । १०औं महाधिवेशनमा आईसीसीमा अध्यक्षका उम्मेदवारहरु डा. बद्री केसी, महेश कुमार श्रेष्ठ र आरके शर्माबीचको प्रतिस्पर्धाले एनआरएनएलाई दुई पक्षमा विभाजिततर्फ अग्रसर गराएको थियो ।

केसी पक्ष निर्वाचित भए पनि श्रेष्ठ र शर्मा पक्षले निर्वाचन निष्पक्ष नभएको र केसीको नेतृत्व नस्वीकार्ने अडान कायम राख्दै आएपछि एनआरएनएमा आन्तरिक विवाद उत्कर्षमा पुगेको हो । तीन वर्ष अघिको आन्तरिक विवाद कायमै रहँदा अन्ततः अमेरिकामा पनि एनआरएनए दुई फरक समूहमा विभाजित भएको हो । 

अमेरिका एनसीसी अध्यक्षमा जुलाई २८ मा निर्वाचित उप्रेती डा. बद्री केसी र अगस्त १८ मा अध्यक्ष निर्वाचित साह महेश श्रेष्ठ पक्षका हुन् । २८ जुलाइमा टेक्सस राज्यको डालासमा उप्रेती नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

उप्रेतीको नेतृत्वमा ३० सदस्यीय कार्यसमिति चिनिएका थिए । जसको वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा दीपक सापकोटा, कुमार तामाङ, दिवाकर पाण्डे, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिवमा रामचन्द्र पन्त निर्विरोध निर्वाचित भएका थिए । 

उप्रेती नेतृत्वको कार्यसमिति घोषणाको एक महिना नबित्दै अगस्त १८ मा म्यासाच्युसेट्स राज्यको बोस्टनमा साह नेतृत्वको कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको हो । 

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार अगस्त १७, १८ मा निर्वाचन प्रक्रिया अघि बढाइएको र चुनावी प्रतिस्पर्धाबाट साह नेतृत्वको कार्यसमिति चयन गरिएको निर्वाचन अनुगमन समिति संयोजक गौतम दाहालले जानकारी दिए ।

‘आईसीसीको निर्वाचन कार्यतालिका अनुसार हामी अघि बढेका हौं,’ उनले कान्तिपुरसँग भने, ‘मतपरिणाम अनुसार २०२५–२०२७ का लागि साह नेतृत्वको एनआरएनएन अमेरिका एनसीसीको नयाँ कार्यसमिति घोषणा गरिएको हो ।’

साहसँग चुनावी प्रतिस्पर्धामा भानु खरेल, रामहरी अधिकारी र रामजी (राज) शर्मा थिए । साहले निकटतम प्रतिस्पर्धीहरु खरेल र अधिकारीलाई पराजित गर्दै निर्वाचित भएको निर्वाचन समिति प्रमुख टुकप्रसाद रेग्मीले जानकारी दिए । १३ हजार १ सय ७५ मतदाता रहेको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन प्रक्रियामा ६३.०२ प्रतिशत अर्थात् ८ हजार ३ सय ३ जनाले मतदान गरेका थिए । 

इलेक्ट्रिक (अनलाइन भोटिङ) विधिबाट गरिएको मतदानमा अध्यक्षमा निर्वाचित साहले ३ हजार २ सय २८, खरेलले २ हजार ५ सय ६, अधिकारीले २ हजार ६३ र शर्माले १ सय ५ मत प्राप्त गरेको निर्वाचन अनुगमन समिति संयोजक दाहालले जानकारी दिए ।

दाहालले जम्मा मतदातामध्ये ४ सय १ जनाले सबै चार जना उम्मेदवारलाई मतदान गर्न नचाहेको भन्दै तथस्टमा मत जाहेर गरेको बताए । साह नेतृत्वको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी, उपाध्यक्षहरुमा प्रदीप चौलागाईं, सुरेन्द्र लोडारी, डा.गंगाधर आर्चाय र आङ्छिरिङ शेर्पा, महिला उपाध्यक्षमा सुनिता खत्री, युवा उपाध्यक्षमा विजय वाइवा, महासचिवमा मोहन न्यौपाने र कोषाध्यक्ष रवीन्द्र उप्रेतीसहित ३० सदस्यीय कार्यसमिति चुनिएका हुन् ।

दुई फरक निर्वाचनबाट गठन दुई कार्यसमितिबारे दुवै अध्यक्षले आफूहरु एकबद्ध भएर अघि बढ्न प्रतिबद्ध भएको बताएका छन् । जुलाई २८ मा निर्वाचित भएका अध्यक्ष उप्रेतीले आफ्नो तर्फबाट एकताको ढोका सदैव खुला राखेको बताए । उनले एनआरएनए अमेरिकाको उद्देश्य एनआरएनको हकहित र अधिकार प्राप्ति भएकोले उद्देश्य प्राप्तिसँगै संस्था बलियो बनाउन समेत आफू तयार रहेको धारणा राखेका छन् ।

‘नेतृत्वमा आउनका लागि केही विवाद देखिए पनि हामीले मिलाउन सक्ने र एनआरएनए अमेरिकालाई एक ढिक्का बनाउन सक्ने स्थिति अझै कायम छ,’ उनले भने, ‘त्यसकारण हामीबीच एकता र छलफल आवश्यक छ । केन्द्रले यही ढंगले बुझिदिएर समस्या समाधानका लागि तत्परता देखाउनुपर्ने हुन्छ ।’

एनआरएनएले आन्तरिक विवाद नेपालका राजनीतिक पार्टीहरुलाई सुम्पिँदा आजको अवस्था सिर्जना भएको र नेपालका राजनीतिक पार्टीले एनआरएनए कमजोर बनाउन भूमिका खेलेको आरोपसमेत लगाए ।

अर्का अध्यक्ष साहले एनआरएनएलाई एकबद्ध बनाउनकै लागि आफु नेतृत्वमा आएका बताए । उनले एनआरएनए अमेरिकाको आन्तरिक समस्या समाधानका लागि छिट्टै पहल सुरु गर्दै मतदातालाई निराश नबनाउने दाबीसमेत गरे । ‘एकबद्ध हुनुको विकल्प छैन, आधिकारिताको सवाल एकातर्फ भए पनि एनआरएनएलाई बलियो बनाएर अमेरिकामा रहेका एनआरएनका समस्या समाधान गर्नमा मेरो जोड रहनेछ,’ उनले भने, ‘संस्थागत रुपमा एकबद्ध हुने सवालमा म व्यक्तिगत रुपमा पनि बाधक बन्ने छैन ।’ 

जुलाई २८ मा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित विकास उप्रेती र अगस्त १८ मा निर्वाचित अध्यक्ष सतेन्द्र साह ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully