गाजामा युद्ध अन्त्यका लागि सडकमा उत्रिए इजरायली नागरिक, प्रधानमन्त्रीद्वारा प्रदर्शनको आलोचना

तेल अविवको होस्टेजेस स्क्वायरमा युद्ध रोक्न र बन्धकको रिहाइको माग गर्दै ठूलो प्रदर्शन भएको छ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Israeli citizens take to the streets to call for an end to the war in Gaza, with the prime minister criticizing the demonstration

काठमाडौँ — गाजामा युद्ध अन्त्य र हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइका लागि इजरायली नागरिक सडकमा उत्रिएका छन् ।

उनीहरुले गाजामा जारी युद्ध रोक्न र इजरायली बन्धकको रिहाइको सम्झौता गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

आइतबार राति तेल अविवको ‘होस्टेजेस स्क्वायर’ मा ठूलो भीड जम्मा भएको थियो । एक दिवसीय राष्ट्रिय हड्तालका कारण केही क्षेत्रमा सडक प्रभावित हुनुका साथै विश्वविद्यालय पनि बन्द भएका छन् । 

यसै क्रममा दिनभर प्रदर्शन गर्ने करिब ४० जनालाई पक्राउसमेत गरिएको छ । 

विरोध प्रदर्शनका आयोजकले गाजा शहरमा नियन्त्रण गर्ने योजनाका कारण हमाससँग रहेका बन्धक २० जनाको ज्यान जाने खतरा रहेको बताएको छ । 

प्रदर्शनको आलोचना

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विरोध प्रदर्शनको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘इजरायलभित्रै हुने यस्ता प्रदर्शनले हमासको मनोबल झन बढ्नेछ र बन्धकको रिहाईमा ढिलाई हुनेछ ।’

७ अक्टुबर २०२३ मा इजरायलमा पर्व मनाइरहेका नागरिकलाई लक्षित गरी हमासले आक्रमण गरेयता गाजामा युद्धको सुरुआत भएको हो । उक्त आक्रमणमा इजरायलमा १२ सय जना मारिएका थिए । जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । 

यस्तै उक्त आक्रमणपछि हमासले एक नेपालीसहित २५१ जनालाई बन्धक बनाएर गाजामा लिएका थिए । जसमध्ये अब करिब २० जना मात्र जिवित रहेको बताइएको छ । हमासद्वारा नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलद्वारा गाजामा गरिएको आक्रमणमा परी हालसम्म ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully