अलास्कामा ट्रम्प-पुटिनको वार्ता निष्कर्षविहीन

उनीहरुको वार्तामा कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रावण ३१, २०८२

कान्तिपुर संवाददाता

Trump-Putin talks in Alaska inconclusive

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता ठोस सम्झौता बिना सकिएको छ ।

शुक्रबार अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरू भएको बैठक साढे २ बजेसम्म चलेको थियो । 

उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर उनीहरुको वार्तामा कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताए । 

‘केही प्रगति भएको छ । धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,’ ट्रम्पले भने । तर के-के बुदाँमा सहमति भयो उनले खुलाएनन् । 

त्यस्तै पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने- ‘हामी अपेक्षा गर्छौं कि किएभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन् ।’ 

अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुका अनुसार पुटिनले युक्रेनमा युद्धविरामका लागि चार अडान राखेका छन् । पुटिनले युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडान राखेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ । 

उनका यीनै अडानका कारण युद्धविरामबारे ठोस निर्णय हुन नसकेको सञ्चारमाध्यमहरुले लेखेका छन् ।

कान्तिपुर

Link copied successfully