‘ट्यारिफ वार’ मा कता जाँदै छन् ट्रम्प ?

विश्वका सय बढी देशका उत्पादनमा भन्सार महसुल लगाउने मात्रै होइन, त्यस सम्बन्धमा दिनहुँजसो दिने विवादास्पद अभिव्यक्तिले पनि ट्रम्पले के गर्न खोजिरहेका छन् भन्ने ठम्याउन गाह्रो छ।

श्रावण २८, २०८२

गोविन्द देवकोटा

Where is Trump going in the 'tariff war'?

What you should know

काठमाडौँ — भन्सार महसुलमा लिएको अस्थिर नीतिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व राजनीतिमा चर्चामा छन् । विश्वका सयभन्दा बढी देशका उत्पादनमा भन्सार महसुल लगाउने मात्रै होइन, त्यस सम्बन्धमा दिनहुँजसो दिने विवादास्पद अभिव्यक्तिले पनि उनले के गर्न खोजिरहेका छन् भन्ने ठम्याउन गाह्रो भइरहेको छ ।

एसियाका दुई ठूला अर्थतन्त्र चीन र भारतका सम्बन्धमा उनले लिएका पछिल्ला निर्णयलाई पनि विश्वभर चासोका साथ हेरिएको छ । 

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो पटक कार्यभार सम्हालेदेखि नै ट्रम्पका निर्णय र वक्तव्यले चर्चा पाइरहेका छन् । उनी कति बेला के निर्णय लिन्छन्, कुन देशसँग कहिले नजिक हुन्छन्, कहिले टाढा हुन्छन् र कसबाट के अपेक्षा गरिरहेका छन्, कसैलाई पत्तो हुँदैन । उनका निर्णयहरू यति अस्थिर छन् कि एक दिन पनि होइन, एक घण्टाकै अवधिमा कति बेला बदलिने हो, यसै भन्न सकिँदैन । 

पछिल्लो समय ट्रम्प प्रशासनले भारतलाई लगाएको भन्सार शुल्क चर्चामा छ । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा ट्रम्प उत्रिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको खुलेरै समर्थन गरेका थिए । मोदीले सार्वजनिक मञ्चबाटै ‘अबकी बार ट्रम्पकी सरकार’ भन्ने घोषणा गरेका थिए । अमेरिका–भारतबीचको द्विपक्षीय सम्बन्धको कोणबाट हेर्दा त्यो अनौठो घटना थियो । मोदीको त्यस्तो घोषणालाई ट्रम्पसँगको मित्रवत् सम्बन्धका रूपमा पनि विश्लेषण गरिएको थियो । 

भूराजनीतिक मामिलाका विश्लेषकहरूले ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि भारत–अमेरिका सम्बन्धले चीनलाई ‘चेक’ गर्ने भविष्यवाणीसमेत गरेका थिए । तर ट्रम्पले भारतका सम्बन्धमा लिएको पछिल्लो नीतिले सबैलाई आश्चर्यमा पारेको छ ।  

ट्रम्प आर्थिक र सैन्य शक्तिमा अमेरिकाको मुख्य प्रतिस्पर्धी चीनसँग नरम देखिएका छन् । तर, क्षेत्रीय साझेदार र मित्रवत् सम्बन्ध रहेको मानिएको भारतसँग भने उनले कठोर नीति लिएका छन् । जुन झट्ट हेर्दा अपत्यारिलो लाग्छ ।

ट्रम्पले रुससँग तेल खरिद गरेको भन्दै भारतीय उत्पादनहरूमा ५० प्रतिशत थप भन्सार शुल्क लगाएका छन् । तर, भारतले ट्रम्पको उक्त आरोपलाई अस्वीकार गरेको छ । रुसले तेल बिक्रीबाट प्राप्त रकम युक्रेनविरुद्धको युद्धमा खर्च गरेको भन्दै भारतलाई रुसबाट तेल खरिद नगर्न ट्रम्पले दबाब दिइरहेका छन् । 

रोचक त के भने रुसबाट सबैभन्दा धेरै तेल खरिद गर्ने देश चीन हो । तर ट्रम्पले भन्सार शुल्क बढाउने चीनसँगको सहमति ३ महिनाका लागि थप गरेका छन् । भन्सार शुल्क वृद्धि गर्ने अमेरिकाको निर्णयको जवाफमा चीनले भन्सार शुल्क बढाउन थालेपछि ट्रम्पले तत्काल एकअर्काविरुद्ध थप शुल्क नलगाउने सहमति गरेका छन् ।

भूराजनीतिक विश्लेषकहरूको भनाइमा रुसी तेल खरिद गरेकै कारण मात्र अमेरिकाले भारतलाई भन्सार शुल्क बढाएको होइन । रुससँग तेल खरिद गर्दै आए पनि चीनसँग तीन महिनाका लागि भन्सार शुल्क नबढाउने सहमति गरेकाले पनि ट्रम्पले भारतविरुद्ध अख्तियार गरेको नीतिमा तेल खरिदको मुद्दा पत्यारिलो नभएको उनीहरूको दाबी छ । 

अमेरिकाले भारतका सम्बन्धमा लिएको पछिल्लो नीति कडा ‘नेगोसिएसन’ का लागि भएको अर्थविद् एवं संयुक्त राष्ट्रसंघका अन्तर्राष्ट्रिय सुशासन सल्लाहकार अंगराज तिमिल्सिना बताउँछन् । कान्तिपुरसँगको हालैको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाका तर्फबाट ट्यारिफ वैधानिक छ कि छैन भन्ने विषयमा त त्यहीँको न्यायिक प्रणालीले परीक्षण गर्ला । तर राष्ट्रपतिलाई ट्यारिफ बढाउने र घटाउने अधिकार छ । बरु यो कतिसम्म टिक्छ, नेगोसिएसनको मात्रै रणनीति हो कि होइन, अर्थतन्त्रमा अरू असर कस्तो पर्छ भन्ने विषय महत्त्वपूर्ण छ । यद्यपि, दुई देशका बीचमा नेगोसिएसनका लागि समय नदिइएको होइन ।’

उनका अनुसार ट्रम्पको भन्सार नीति राष्ट्रपति चुनावको एजेन्डा र परिणामसँग जोडिएको छ । तिमिल्सिना भन्छन्, ‘कति देशलाई ९० दिनसम्मको समय भनिएको थियो । अहिले पनि मेक्सिकोलाई ९० दिन समय बढाइएको छ, चीनलाई पनि बढाइएको छ । तर यो सबै अमेरिकाको हालसालैको चुनावी एजेन्डा र परिणामसँग जोडिएको छ ।’

अरू विश्लेषक पनि भारतमाथि ट्यारिफ नीतिको प्रहार केवल तेल खरिदसँग मात्र सम्बन्धित नरहेको बताउँछन् । रुसको सुरक्षा परिषद्मा वैज्ञानिक सल्लाहकार बोर्ड सदस्य एन्ड्रयु सुशेनत्सोव यस्तो खालको दबाब भारतविरुद्ध लामो समयसम्म नरहने दाबी गर्छन् । 

रुसी समाचार एजेन्सी ताससँग शनिबार अमेरिकी ट्यारिफ नीतिका विषयमा कुराकानी गर्दै उनले भनेका छन्, ‘रुससँग भारतले तेल खरिद गरिरहेकै कारण ट्यारिफ दोब्बर बनाइएको होइन । खास कुरा त अर्कै छ । भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश हो । भारतले तीव्र रूपमा प्रगति गरिरहेको छ । चीनसँगको संघर्षमा रणनीतिक साझेदारका रूपमा भारतलाई देखिरहेको छ । अमेरिका भारतले आफ्नो नेतृत्व स्वीकार गरोस् भन्ने चाहन्छ ।’

भारतमाथि लगाइएको ट्यारिफ २७ अगस्टदेखि लागू हुने भनिएको छ । तिमिल्सिनाकै भनाइमा अमेरिकाले यो अवधि नेगोसिएसनका लागि दिएको हो । ताकि अमेरिकाले चाहेको के हो भन्ने विषयमा भारत गम्भीर बनोस् । तर भारतीय प्रधानमन्त्री मोदी ट्रम्पले भनेअनुसार सम्झौता गर्नुभन्दा पनि ‘जे हुन्छ बेहोरुँला’ भन्ने रणनीति अख्तियार गर्ने पक्षमा देखिन्छन् । 

भारतीय सुरक्षा सल्लाहकार अजित डोभालको हालैको रुस भ्रमणलाई पनि त्यही सन्दर्भमा हेरिएको छ । डोभालले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । र, पुटिनले यसै वर्षको अन्त्यसम्ममा भारत जाने प्रतिबद्धतासमेत जनाएका छन् ।

सन् २००८ देखि २०१२ सम्म युक्रेनका लागि बेलायती राजदूत रहेका लिग टर्नरले युक्रेनमा रुसको सैन्य कारबाहीमा भारतलाई सजाय दिनु अमेरिकी नीति अचम्मित पार्ने खालको भएको टिप्पणी गरेका छन् । ‘रुसबाट तेल खरिद गरेको भनेर भारतमाथि ट्यारिफ लगाएका ट्रम्पले रुसविरुद्ध कुनै निर्णय गरेका छैनन् । तर अमेरिका यस्ता कैयौं कुराहरू गर्न सक्थ्यो । अमेरिकाले रुसी तेल ट्यांकर्समा कुनै कारबाही गरेन । साथै रुसी तेलको व्यापारमा सहयोग गरिरहेका बैंक र रिफाइनरीमा समेत कुनै प्रतिबन्ध लगाएको छैन,’ मस्को टाइम्सको सोमबारको संस्करणमा उनले लेखेका छन् ।

भारतीय विश्लेषकहरूले पनि अमेरिकाको पछिल्लो व्यवहार रुससँग तेल खरिदको विषयसँग सम्बन्धित नभएको दाबी गरेका छन् । भारत र अमेरिकाबीच पछिल्लो चार महिनादेखि नयाँ व्यापार सम्झौताका लागि वार्ता भइरहेको थियो ।

अमेरिकाले आफ्ना डेरी उत्पादन भारतीय बजारमा निर्बाध प्रवेश चाहेको तर भारतले स्थानीय उत्पादनमा असर पर्ने र त्यसले चर्को विरोधको सामना गर्नुपर्ने भन्दै सहमति जनाएको थिएन । त्यस्तै गहुँ, चामल, भटमास, मकै, स्याउ, अंगुरजस्ता कृषि उत्पादनमा भन्सार घटाउनुपर्ने अमेरिकाको माग थियो । तर, भन्सार घटाउँदा किसानलाई प्रत्यक्ष नोक्सान हुने भन्दै सम्झौता नगर्ने भारतीय पक्षको अडान रह्यो । यिनै कारणले पनि अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाउने निर्णय गरेको भारतीय विश्लेषकहरूको भनाइ छ । 

ट्रम्पले भने भारतमाथि अतिरिक्त भन्सार शुल्क लगाउने निर्णयले भारतलाई भन्दा पनि मस्कोलाई झट्का लागेको दाबी गरेका छन् । सोमबार ह्वाइट हाउसमा संवाददाताहरूसँगको अन्तरक्रियामा उनले रुसबाट तेल खरिद गर्ने चीन र भारतविरुद्ध ५० प्रतिशत ट्यारिफ लगाउने निर्णय गर्नुमा रुसलाई झट्का दिनु रहेको बताएका छन् । आफ्नो निर्णयले रुसको अर्थतन्त्र नराम्ररी प्रभावित भएको उनको दाबी छ । 

ट्रम्पको भन्सार नीतिलाई लिएर अमेरिकाभित्रै पनि विरोध भइरहेको छ । अन्य देशबाट आयात हुने सामग्रीमा चर्को शुल्क लगाउँदा ती वस्तुहरूको मूल्य बढ्ने त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्ने चेतावनीसमेत विश्लेषकहरूको छ । हाउस फरेन अफेयर्स कमिटीको डेमोक्रेट्सले त ट्रम्पको पछिल्लो निर्णयले भारत–अमेरिका सम्बन्धमा समेत गम्भीर क्षति हुने चेतावनीसमेत दिएको छ । 

यता चीनले पनि अमेरिकाको अस्थिर भन्सार नीति निन्दा गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आइतबार ट्रम्पको निर्णयलाई भन्सार महसुल दुरुपयोगका रूपमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘चीन यस प्रकारका भन्सार शुल्कको गलत प्रयोगविरुद्ध छ ।

अमेरिकाले प्रविधि र व्यापारिक मुद्दामा राजनीतीकरण बन्द गर्नुपर्छ ।’ भन्सार महसुल वृद्धिका कारण दुई देशबीच तनाव उत्पन्न भए पनि दुवै पक्षबीच संवाद भइरहेको अमेरिकी विदेश विभागको दाबी छ । विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटका अनुसार मतभेद सुल्झाउन संवाद भइरहेको बताएका छन् । 

विश्लेषकहरूले ट्रम्पको भन्सार नीतिले विश्वभर आर्थिक मन्दी र ट्रेड वारको जोखिम बढेको छ । यद्यपि उनको यो नीति स्थिर रहनेमा भने उनीहरू आशंका प्रकट गर्छन् । यसअघि निर्णय भएका बद्लाव र व्यक्त भएका प्रतिक्रियालाई हेर्दा नीति लामो समय नटिक्ने विश्लेषकहरूको दाबी छ ।

ट्रम्पले सन् २०१९ मा पनि यस्तै नीति अख्तियार गरेका थिए । त्यति बेला उनले चीनविरुद्ध अतिरिक्त शुल्क लगाएका थिए । पछि चीनले पनि अमेरिकाबाट आयात हुने भटमासमा जवाफी भन्सार लगायो । जसका कारण अमेरिकाले आफ्ना किसानलाई अर्बौं डलरको क्षतिपूर्ति दिनुपरेको थियो । 

– एजेन्सीको सहयोगमा

गोविन्द

Link copied successfully