सोमबार ट्रम्पको कार्यकारी आदेशले मे महिनाको व्यापार सम्झौतालाई यथावत राखेको छ, जसले दुई देशबीचको ट्यारिफ निलम्बनलाई सुनिश्चित गरेको छ।
काठमाडौँ — अमेरिका र चीनबीच एक अर्काविरुद्ध ट्यारिफ नलगाउने सहमति फेरि ९० दिनसम्मका लागि बढाइएको छ । पहिलो सहमतिको समय सकिनै लाग्दा दुई देशबीच तीन महिनाका लागि थप सहमति भएको हो ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा हस्ताक्षर गरिएको छ । यो आदेशमा गत मे मा भएको सहमतिलाई यथावत राखिएको छ । त्यसबेला दुवै देशले अस्थायी रुपमा एक अर्काका सामग्रीमा लगाएका ट्यारिफ निलम्बित गरेका थिए ।
अमेरिकाले सहमतिको अवधि नबढाएमा मंगलबार थप ट्यारिफ लगाउने धम्की दिएको थियो । गत महिना भएको कुराकानीमा चीनले दुवै पक्ष सहमति बनाइराख्नका लागि कोशिस गर्ने बताएको थियो ।
अमेरिकी अधिकारीले ट्रम्पको मन्जुरी करिरहेको बताएका थिए । अप्रिलमा व्यापारलाई लिएर तनाव उत्कर्षमा पुगेको थियो ।
ट्रम्पले विश्वका कैयौं देशका सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च कर लगाइएको थियो । जसको जवाफमा चीनले पनि अमेरिकी सामग्रीमा कर लगाएको थियो ।
मे मा भएको सम्झौता अनुसार अमेरिकामा आयात हुने चिनियाँ सामग्रीमा वर्षको सुरुवातमै ३० प्रतिशत अतिरिक्त कर लगाइएको थियो । चीनले पनि अमेरिकी सामानमा १० प्रतिशत नयाँ कर थपेको थियो ।
