युक्रेनले पनि रुसको साराटोभ क्षेत्रमा रहेको एक ठूलो तेल प्रशोधन केन्द्रमा हमला गरेको दाबी गरेको छ ।
What you should know
किभ — युक्रेनमा रुसद्वारा गरिएको पछिल्लो गोलाबारी र ड्रोन हमलामा परी पाँच जनाको ज्यान गएको छ । त्यसैगरी, युक्रेनले पनि रुसको साराटोभ क्षेत्रमा रहेको एक ठूलो तेल प्रशोधन केन्द्रमा हमला गरेको दाबी गरेको छ ।
अमेरिका र रुसले आगामी शुक्रबारका लागि शिखर वार्ता गर्ने सहमति जनाइरहँदा आइतबार युद्धरत दुवै पक्षबाट आक्रमण भएका हुन् ।
युक्रेनी राष्ट्रिय प्रहरीले जनाएअनुसार, जापोरिझ्झिया क्षेत्रमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । त्यसैगरी, पूर्वी डोनेत्स्क क्षेत्रमा थप दुई सर्वसाधारणको ज्यान गएको छ । साथै, ओडेसा सहरमा प्रतिबन्धित क्षेत्रमा पौडी खेल्ने क्रममा बारुदी सुरुङ विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा रुसको सम्भावित समुद्री हमला रोक्न बारुदी सुरुङहरू बिछ्याइएको थियो ।
युक्रेनी सेनाले पनि आइतबार नै करिब एक हजार किलोमिटर टाढा पर्ने रुसको साराटोभ क्षेत्रमा ड्रोनमार्फत आक्रमण गरी तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको दाबी गरेको छ । साराटोभका गभर्नर रोमन बुसार्गिनले ‘एक औद्योगिक संरचना क्षतिग्रस्त भएको र एक व्यक्तिको मृत्यु भएको’ पुष्टि गरेका छन् । रुसको बेलगोरोद क्षेत्रमा पनि युक्रेनी हमलाका कारण एक महिलाको ज्यान गएको स्थानीय अधिकारीले जनाएका छन् । यो क्षेत्र युक्रेनी हमलाको जोखिममा रहने सीमावर्ती क्षेत्र हो ।
युक्रेनले रुसको तेल तथा ग्यास पूर्वाधारलाई निसाना बनाई युद्धको आर्थिक स्रोत कमजोर बनाउने रणनीति अघि बढाइरहेको छ । युक्रेनी सेनाले सुमी क्षेत्रमा पर्ने बेजसालिभ्का गाउँ पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ, जबकि रुसले पछिल्लो समय पूर्वी युक्रेनका केही भूभाग कब्जामा लिएको बताएको छ ।
