इजरायल–हमासबीचको २२ महिनादेखिको संघर्षका कारण गाजाको जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ ।
What you should know
न्युयोर्क — इजरायलले गरेको नाकाबन्दीपछि उत्पन्न भोकमरीका कारण तथा बमबारीबाट गाजापट्टीमा दैनिक लगभग २८ बालबालिकाको ज्यान गइरहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले मंगलबार घोषणा गरेको छ । इजरायल–हमासबीचको २२ महिनादेखिको संघर्षका कारण गाजाको जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ ।
‘बमबारी, कुपोषण र भोकमरीबाट मृत्यु । सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ,’ युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ, ‘गाजामा, दैनिक औसत २८ बालबालिका मारिएका छन् ।’
गाजाका बालबालिकालाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिँदै युनिसेफले भनेको छ, ‘कुनै पनि कुराभन्दा बढी, उनीहरूलाई युद्धविराम चाहिन्छ ।’ इजरायली सेनाले २ मार्चदेखि गाजाको सीमानाकाहरू बन्द गरेको छ भने सामान र सहायताका सामग्री बोकेका सवारीसाधनलाई गाजापट्टीमा प्रवेशका लागि रोक लगाएको छ । जसका कारण गाजापट्टीमा अनिकालको संकट निम्त्याएको बताइएको छ ।
गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु
गाजा सिटी– गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार तथा हवाई हमलामा परी मंगलबार कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै खाद्यान्नका लागि पर्खिरहेका बेला मारिएका हुन् ।
दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका ८ जना र मध्य गाजामा ६ जना इजरायली सेनाको गोली लागेर मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ ।
मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भीडभाड भइरहेका बेला पनि गोली प्रहारका घटना दोहोरिएको गाजाली जनताको भनाइ छ । इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
