पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित २९९ को मृत्यु

पाकिस्तान मौसम विज्ञान विभागले सोमबारदेखि उत्तरी क्षेत्रहरूमा चट्याङसहित झ्न भारी वर्षा हुने पूर्वानुमान गरेको छ

श्रावण १९, २०८२

एजेन्सी

Floods in Pakistan kill 299, including 140 children

What you should know

इस्लामाबाद — गत जुन २६ देखि आएको भारी वर्षासँगै बाढीपहिरोका कारण पाकिस्तानमा १ सय ४० बालबालिकासहित कम्तीमा २ सय ९९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ । बाढीपहिरोमा परी १ सय २ जना पुरुष र ५७ महिलाको ज्यान गएको एनडीएमएले उल्लेख गरेको छ ।

पाकिस्तानमा पाँच सातादेखि सुरु भएको वर्षाले देशभरि विनाश निम्त्याएको छ । ७ सयभन्दा बढी घाइते भएकामा २ सय ३९ बालबालिका, २ सय ४ महिला र २ सय ७२ पुरुष रहेका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार मौसमी वर्षाले १ हजार ६ सय ७६ घरहरू पनि क्षतिग्रस्त भएका छन् । बाढीका कारण ४ सय २८ वटा चौपाया मरेको एनडीएमएको तथ्यांकमा उल्लेख छ ।

एनडीएमएले २ सय २३ वटा उद्धार अभियान सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रबाट २ हजार ८ सय ८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ । राहतमार्फत आवश्यक सामग्रीहरू वितरण गरिएको जनाइएको छ । यसबाहेक अधिकारीहरूले लाइफ ज्याकेट, जनस्वास्थ्य कीट, पाल र पानी तान्ने पम्पहरू आपूर्ति गरेका छन् । ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायतासमेत प्रदान गरिएको जनाएको छ ।

एनडीएमएले धेरै क्षेत्रहरू प्रभावित रहेको उल्लेख गरेको छ भने प्रान्तीय र संघीय निकायहरूसँगै संयुक्त अभियानहरू सञ्चालन भइरहेको डनले जनाएको छ । पाकिस्तान मौसम विज्ञान विभाग (पीएमडी) ले अगस्ट ४ देखि अगस्ट ७ सम्म उत्तरी क्षेत्रहरूमा चट्याङसँगै भारी वर्षा हुने पूर्वानुमान गरेको छ । यस अवधिमा खैबर पख्तुनख्वा, पञ्जाब र इस्लामाबादमा वर्षा हुने सम्भावना रहेको बताइएको छ भने गिलगिट–बाल्टिस्तानमा अगस्ट ५ देखि वर्षा हुने अनुमान गरिएको छ । बलुचिस्तानले अगस्ट ६ मा उत्तरपूर्वी र दक्षिणी भागहरूमा वर्षाको पूर्वानुमान गरेको छ भने तटीय क्षेत्रहरूमा हल्का वर्षाको साथ सिन्धमा पनि आर्द्रता बढ्ने अपेक्षा गरिएको छ ।

पञ्जाबमा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) का महानिर्देशक इरफान अलि काठियाले अगस्ट ५ देखि सुरु हुने अनुमान गरिएको मनसुनको छैटौं चरणको चेतावनी दिएका छन् । वर्षाले चेनाब र झेलम नदीमा बाढी आउँदा जोखिम बढ्ने पनि उनले बताए । लाहोर, मुरी, अटक, झेलम, गुजरानवाला, फैसलाबाद र डेरा गाजी खानलगायत दर्जनौं जिल्लाहरू प्रभावित हुन सक्ने जनाउँदै अगस्टमा जुलाईको तुलनामा वर्षा अझ बढी हुने पीडीएमएले चेतावनी दिएको छ । डनले मुरी र गल्लियात दुवै लोकप्रिय पर्यटन क्षेत्रमा कमजोर भवन र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने बताएको छ ।

एजेन्सी

Link copied successfully