बन्धक परिवारद्वारा इजरायललाई शान्ति सम्झौताका लागि दबाब

हमासले अपहरण गरेका २ सय ५१ बन्धकमध्ये करिब २० जना अझै पनि जीवित रहेको विश्वास गरिएको छ ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Hostage families pressure Israel for peace deal

तेल अविव — हमासले बन्धक बनाएका आफ्ना प्रियजनको रिहाइका लागि इजरायल सरकारलाई जोडदार पहल गरिदिन भन्दै तिनका आफन्त तथा परिवारजनले तेल अविवमा व्यापक विरोध प्रदर्शन गरेका छन् । हमासले अपहरण गरेका २ सय ५१ बन्धकमध्ये करिब २० जना अझै पनि जीवित रहेको विश्वास गरिएको छ ।

हमास र गाजाको दोस्रो ठूलो उग्रवादी समूह इस्लामिक जिहादले यसै साता बन्धकहरूका छुट्टाछुट्टै भिडियो जारी गरेपछि तिनका परिवार र इजरायलीलाई थप आक्रोशित बनाएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि एक साताअघि मात्र युद्धविराम वार्ताका लागि पहल गरेका थिए । उनले युद्धविरामका लागि हामासले राखेको अडानलाई अनुचित भएको दोष दिँदै बन्धकहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका थिए । उनले यसका लागि गाजालाई सुरक्षित बनाउन अन्य उपाय पनि खोजिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रदर्शनकारीले इजरायल सरकारलाई युद्ध समाप्तिका लागि सम्झौता गर्न आह्वान गर्दै होस्टेज एन्ड मिसिङ फ्यामिली फोरमका प्रमुख रणनीति अधिकारी लिओर चोरेभले भनेका छन्, ‘यो दुःस्वप्न रोक्न र बन्धकहरूलाई उग्रवादी समूहहरूको कब्जाबाट छिटोभन्दा छिटो बाहिर निकाल्न अनुरोध गर्छौं ।’

कान्तिपुर

Link copied successfully