पाकिस्तान प्रहरीद्वारा अहमदिया मुस्लिमको ७० वर्ष पुरानो मस्जिद ध्वस्त

चिहानमा इस्लामी आयत लेखिएका कारण भत्काउन आदेश आएको प्रहरीको भनाइ

श्रावण १५, २०८२

एजेन्सी

70 year old mosque of Ahmadiyya Muslims destroyed by Pakistan police

पञ्जाब — पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरीले अल्पसंख्यक अहमदिया मुस्लिम समुदायको एक ७० वर्ष पुरानो मस्जिद ध्वस्त गरेको छ ।

जमात–ए–अहमदिया पाकिस्तान (जेएपी)ले भनेको छ, ‘धार्मिक चरमपन्थीको दबावमा प्रहरीले ७० वर्ष पुरानो मस्जिदको संरचना मात्र ध्वस्त गरेन, अहमदियाहरुको चिहानका ढुंगाहरु तोडेर अपवित्रसमेत गरेको छ ।’ यो घटना मंगलबार गुजराञ्वाला जिल्लामा भएको हो । 

जेएपीका प्रवक्ता अमीर महमूदले कारबाहीको कडा निन्दा गरेका छन् । उनले भने, ‘सबै नागरिकको जिउधनको रक्षा गर्नु प्रहरीको कर्तव्य हो । सम्पत्ति र धार्मिक स्थलको उनीहरुले रक्षा गर्नुपर्छ । तर यहाँ त प्रहरी नै ध्वस्त पार्नमा उद्दत छ ।’

प्रवक्ता महमूदले वरिष्ठ प्रहरी अधिकारीहरुलाई घटनालाई गम्भीर रुपमा लिन र मस्जिदमा नोक्सान पुर्‍याउने र अहमदियाहरुको चिहान अपवित्र पार्नेहरुलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । 

यता एक प्रहरी अधिकारीले अहमदिया समुदायको मस्जिदको प्रार्थना कक्ष र चिहानको संरचना भत्काउने आदेश आएको बताएका छन् । चिहानमा इस्लामी आयतहरु लेखिएका कारण यस्तो आदेश आएको उनको भनाइ छ ।   

एजेन्सी

Link copied successfully