रुसी हमलामा युक्रेनमा २५ जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि गरिएको हमलाका कारण युक्रेनसँगको शान्ति प्रक्रिया जटिल बन्दै

श्रावण १३, २०८२

एजेन्सी

Russian attack kills 25 in Ukraine

What you should know

किभ — रुसले युक्रेनका विभिन्न क्षेत्रमा मंगलबार गरेको भीषण हवाई हमलामा कम्तीमा २५ जनाको ज्यान गएको छ । मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदीसमेत परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त हमलाको केही घण्टापछि नै रुसले शान्ति प्रक्रियाप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन् । सो आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ । ‘यो योजनाबद्ध हमला हो, कुनै दुर्घटनावश भएको होइन । रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव नै छैन,’ राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै हमलाको चर्को विरोध गरेका छन् । तर रुसी प्रवक्ता दिमित्री पेस्कोभले भने जेलेन्स्कीको आरोपको खण्डन गर्दै ‘रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित नगर्ने’ दाबी गरेका छन् ।

युक्रेनी वायुसेनाले जनाएअनुसार, रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो, जसमध्ये ३२ ड्रोनलाई निस्तेज पारिएको दाबी गरिएको छ । यद्यपि, डनिप्रो क्षेत्रमा रहेको क्याम्यान्स्के सहरको एक अस्पतालमा गरिएको हमलामा २३ वर्षीया गर्भवती महिला डायनासहित तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । खार्किभ क्षेत्रमा गरिएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ ।

यी हमलाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि सुरु भएको हो । यदि सो समयसीमाभित्र रुसले आक्रमण रोक्न अस्वीकार गरेमा अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लागू गर्ने चेतावनी दिएका थिए । युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमा गरिएको उक्त हमलालाई ‘युद्ध अपराध’ को संज्ञा दिँदै भनेका छन्, ‘कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन् ।’

रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, रुसी सेनाले युक्रेनका नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ । युक्रेनले यथासम्भव आक्रमण रोक्ने प्रयास गरिरहेको छ, यद्यपि रुसी फौज केही नयाँ क्षेत्रमा समेत अघि बढेको देखिएको छ ।

एजेन्सी

Link copied successfully