जन्मदर बढाउन चीनले बाबुआमालाई १५ सय डलरसम्म भत्ता दिने 

चीन सरकारले प्रत्येक परिवारलाई हरेक वर्ष ३६०० युआन दिने योजना ल्याएको छ, जसले ३ वर्षसम्मका बच्चालाई समेट्छ।

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

China will give parents an allowance of up to 1,500 dollars to increase the birth rate

What you should know

काठमाडौँ — जन्मदर घट्ने क्रम नरोकिएपछि चीनले बच्चा हुर्काउन बाबुआमालाई भत्ता दिने भएको छ । कुनै बेला जनसंख्या वृद्धि रोक्न 'एक सन्तान' को नीति लिएको चीनले अहिले तीन सन्तानको नीति लिँदा पनि जन्मदर नबढेपछि अभिभावकलाई बच्चा हुर्काउन भत्ता दिने योजना ल्याएको हो । 

सोमबार चीन सरकारले राष्ट्रव्यापी रूपमा लागू हुने गरी 'सब्सिडी' कार्यक्रम ल्याएको हो । चीनको राज्य परिषद्का अनुसार सरकारले प्रतिसन्तान प्रत्येक परिवारलाई हरेक वर्ष ३ हजार ६ सय युआन(५०३ अमेरिकी डलर) दिने छ । यो योजना छोराछोरी ३ वर्ष हुन्जेलसम्मका लागि र ३ जना सन्तानसम्मका लागि लागू हुने छ ।

यो योजनाबाट हरेक वर्ष करिब २ करोड परिवार लाभान्वित हुने पनि परिषद्ले जनाएको छ । देशको जन्मदर र कुल नवजात शिशुहरूको संख्या ७ वर्ष लगातार घटेपछि सन् २०२४ मा सामान्य सुधार देखिएको थियो । यसैबीच, सन् २०२४ को अन्त्यसम्म चीनमा ६० वर्षभन्दा माथिको जनसंख्या ३ करोड १० लाख पुगेको थियो ।

विश्वमै सबैभन्दा बढी जनसंख्या भएको मुलुकमध्येमा परे पनि चीनले दुई प्रकारको जनसांख्यिकीय चुनौतीको सामना गर्दैछ; पहिलो नवजात शिशुहरूको संख्या घट्दै जानु, दोस्रो- पाका उमेरको जनसंख्या तीव्र रूपमा बढ्नु ।

चीनको राज्य परिषद्ले हालै सार्वजनिक गरेको निर्णयअनुसार, बालबालिका हुर्काउने जिम्मेवारी बोकेको परिवारलाई दिइने यो भत्ता करयोग्य आम्दानीमा गणना नहुने र अन्य सामाजिक सेवा वा सहायता योजनामा प्रभाव नपार्ने बताइएको छ ।

सन् २०१६ मा 'एक सन्तान' नीति हटाएर दुई सन्तान र सन् २०२१ मा तेस्रो सन्तान नीति ल्याएको चीनमा जन्मदर घट्ने क्रम रोकिएको छैन । यस्तो स्थितिमा सरकारको यो नयाँ कार्यक्रमलाई जन्मदर बढाउने र परिवारलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको बताइएको छ ।

केही वर्षयता चीनका विभिन्न स्थानीय सरकारहरू—जस्तै होह्होट, शेनयाङ, पन्जिहुवा र तियानमेनले बालबालिकाका लागि नगद भत्ता दिने छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्दै आएका थिए । नयाँ योजना लागू भएपछि यस्तो सहायता देशभर एउटै प्रणालीमा दिइनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully