पर्यटकीय सम्भावनालाई उपयोग गर्दै सिक्किम सरकारले नजिकैको चोला दर्रा क्षेत्रलाई समेत पर्यटन नक्सामा ल्याउने प्रयास थालेको हो
What you should know
विराटनगर — सन् २०१७ को जुनमा भारत, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्र दोक्लाम झन्डै रणभूमिमा परिणत भएको थियो । दुई परमाणु शक्तिराष्ट्र भारत र चीनबीच करिब ७३ दिन लामो तनाव भएको थियो । तर, त्यो तनाव चाँडै नै मत्थर भयो ।
यो त्रिदेशीय विन्दु दोक्लामलाई अब पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने भारत सरकारको तयारी भइरहेको छ ।
सिक्किम सरकारले भारत सरकारअन्तर्गतको ‘रणभूमि पर्यटन योजना’अन्तर्गत दोक्लामलाई पर्यटकीय केन्द्र बनाउने प्रस्ताव अघि सारेको हो । पर्यटकीय सम्भावनालाई उपयोग गर्दै सिक्किम सरकारले नजिकैको चोला दर्रा क्षेत्रलाई समेत पर्यटन नक्सामा ल्याउने प्रयास थालेको हो । यसका लागि केन्द्र सरकार र सेनासँग समन्वय जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सिक्किम पर्यटन विभागका अतिरिक्त सचिव सीएस रावका अनुसार दोक्लाम र चोला क्षेत्रमा पर्यटकहरूको सुविधाका लागि प्रतीक्षालय, शौचालय, विश्राम कक्षलगायत पूर्वाधार निर्माण भइरहेका छन् । ‘हामीले दुवै स्थानमा आधारभूत सुविधा निर्माणको काम अघि बढाएका छौं,’ रावले बताएका छन् ।
दोक्लाम र चोला, दुवै क्षेत्र सिक्किमका चर्चित पर्यटकीय गन्तव्य छाङ्गु ताल र नाथुला नाकाबाट झन्डै ३० किलोमिटर दुरीमा पर्छन् । ‘यदि यी क्षेत्र पर्यटकका लागि खोल्न सकियो भने घरेलु तथा विदेशी पर्यटकको आकर्षण बढ्नेछ,’ रावको भनाइ छ, ‘यसबाट राज्यले राम्रो आम्दानी पनि लिन सक्छ ।’
योजनाअनुसार पर्यटकलाई सिमाना क्षेत्रसम्म जान अनुमति नदिइए पनि ‘एरियल भ्यु’ अर्थात् हवाई दृश्यावलोकनको अनुमति दिन सकिने प्रस्ताव गरिएको छ । अन्तिम निर्णय भारतीय सेनासँगको छलफलपछि लिइनेछ ।
दोक्लाम क्षेत्रको भौगोलिक संरचना, पहुँच, पर्यटकीय सम्भावना लगायतका पक्ष अध्ययन गर्न सिक्किम सरकारले केही समयअघि मोटरसाइकल टुरसमेत सञ्चालन गरिसकेको छ ।
भारत सरकारले सन् २०१७ को दोक्लाम विवादपछि चीन सीमा जोड्ने पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको थियो । त्यसअनुसार राष्ट्रिय ७१७ 'ए' राजमार्गलाई चौडा र स्तरोन्नति गर्न झन्डै ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गुरुडोङमार, नाथुला, छाङ्गु तालजस्ता स्थानमा बर्सेनि हजारौं पर्यटक पुग्ने गरेका छन् । अब दोक्लाम र चोला पनि त्यही सूचीमा समावेश हुँदै छन् ।
