काठमाडौँ — संयुक्त राष्ट्रको एक शीर्ष अदालतले जलवायु परिवर्तनलाई लिएर एक ऐतिहासिक फैसला सुनाएको छ ।
अदालतको यो फैसलाले जलवायु परिवर्तनको विषयमा अब एक देशले अर्को देशविरुद्ध मुद्दा दायर गर्ने बाटो खुला गरेको छ ।
नेदरल्यान्ड्सको हेग शहरस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिसका न्यायाधीशले बुधबार भनेका छन्, ‘जलवायु परिवर्तनका लागि कुन क्षेत्रमा को जिम्मेवार छ भन्ने कुरा पत्ता लगाउन कठिन छ ।’
कानुनका जानकारहरुले यो फैसलाको असर दूरगामी हुने बताएका छन् । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित देशहरुका लागि यो फैसला एक ऐतिहासिक जित भएको बताइएको छ । प्रभावित देशहरु यो समस्यासँग जुध्नका लागि वैश्विक प्रगतिको कमीबाट आजित भएर अदालत पुगेका थिए ।
