जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने, अमेरिका निर्यात हुने जापानी सामानमा १५ प्रतिशत भन्सार शुल्क
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति जापानसँग बृहत् व्यापार सम्झौता घोषणा गरेका छन् । जुन सम्झौता दुई साता अघिसम्म पनि निकै कठिन मानिएको थियो ।
‘मैले भर्खरै इतिहासको सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरें, यो सम्भवतः जापानसँगको अहिलेसम्मकै ठूलो सम्झौता हुन सक्छ,’ ट्रम्पले मंगलबार राति रिपब्लिकन सांसदहरुसँगको भेटमा भने, ‘यसका लागि हामीले लामो र कडा मिहिनेत पनि गर्यौं । यो सबैका लागि ठूलो सम्झौता हो ।’ सम्झौताअनुसार अमेरिकाले जापानी सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ । यसबाट जापानी अटोमोबाइल र कारका पार्टपुर्जा उद्योगलाई प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरिएको छ । गत अप्रिलदेखि अमेरिकाले जापानी अटोमोबाइल र पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउँदै आएको थियो ।
सम्झौतासँगै जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्नेछ । यो लगानीको ९० प्रतिशत नाफा अमेरिकाले प्राप्त गर्ने ट्रम्पको दाबी छ । ‘यो सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ, जुन अहिलेसम्म भएको थिएन । त्यस्तै जापानले कार र ट्रक, चामल र केही अन्य कृषि उत्पादनका लागि ढोका खोल्नेछ । र, जापानले अमेरिका निर्यात गर्दा १५ प्रतिशत भन्सार शुल्क तिर्नेछ,’ ट्रम्पले ट्रुथ सोसलमा भनेका छन् ।
ट्रम्पको घोषणालगत्तै बुधबार जापानी धितोपत्र बजार वर्षकै उच्च बिन्दुमा पुगेको छ । गाडी निर्माता कम्पनीहरुको सेयर बढ्दा जापानी धितोपत्र बजार निक्की एक दिन ३.७ प्रतिशतले बढेको थियो । अमेरिकासँग व्यापार वार्तामा संलग्न रहेका योजेई आकाजावाले पनि सामाजिक सञ्जाल एक्समा ‘मिसन पूरा’ भएको लेख्दै खुसी व्यक्त गरेका छन् । ‘परिणाममा कुनै पनि सीमा नलगाई भन्सार दर घटाइएको सम्भवतः यो विश्वकै पहिलो व्यापार सम्झौता हो,’ मंगलबार राति वासिङ्टनमा उनले सञ्चारकर्मीहरुलाई बताए ।
अमेरिकासँग नाफामा व्यापार गरिरहेका मुलुकका लागि भन्सार दर सबैभन्दा न्यून भएको हुँदा सम्झौता ऐतिहासिक भएको योजेईको दाबी छ । जापान सरकारले सम्झौताका सबै पक्षलाई सावधानीपूर्ण केलाउने पनि उनले बताए । ‘यो सम्झौताले रोजगारी सिर्जना, गुणस्तरीय उत्पादन तथा जापान र अमेरिकाबीचको द्विपक्षीय साझेदारीमा पनि योगदान गर्ने हामीलाई विश्वास छ,’ आकाजावाले भने ।
उनका अनुसार सम्झौतासँगै जापानले अमेरिकामा लगानी गर्ने भनिएको ५ सय ५० अर्ब डलरको लगानीमध्ये स्वपुँजी र ऋण रहनेछ । जसलाई विशेषगरी औषधि र सेमिकन्डटरको उत्पादनका लागि प्रयोग गरिने आकाजावाले खुलाए । अमेरिकासँगको सम्झौतापछि चर्चा गरिएजस्तो जापानको कृषि क्षेत्रलाई नकारात्मक असर नपर्ने उनको भनाइ छ । सम्झौतामा समावेश नगरिएका वस्तुबारे अमेरिकासँग छलफल जारी रहने पनि उनले बताए ।
अमेरिका–जापानबीचको व्यापार छलफल निकै तनावपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत जुनमा जापानसँगको व्यापार सम्झौताबारे पत्रकारहरुले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले जापानीहरु कडा भएको प्रतिक्रिया दिएका थिए । उनले दुई राष्ट्रबीचको व्यापार सम्झौताको छलफलको केन्द्रमा चामल रहेको खुलासा गरेका थिए । ‘उनीहरुलाई चामलको अभाव भए पनि हाम्रो चामल लिने छैनन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए । तर, मंगलबारको सम्झौता पछि भने ट्रम्पले जापानसँगको विशेष सम्बन्धको पृष्ठभूमिमा सहमति हुनु अमेरिकाका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरेका छन् ।
अमेरिकी तथ्यांक ब्युरोका अनुसार गत वर्ष अमेरिकाले २९ करोड ८० लाख डलर बराबरको चामल जापान निर्यात गरेको थियो । यो वर्ष जनवरीदेखि अप्रिलसम्म जापानले ११ करोड ४० लाख डलर बराबरको चामल आयात गरिसकेको छ । त्यस्तै जापान अटोमोबाइल आयातकर्ता संघका अनुसार गत वर्ष अमेरिकाबाट १६ हजार ७ सय ७ वटा गाडी आयात गरिएका थिए ।
जापान अमेरिकाको प्रमुख व्यापार साझेदार हो । अमेरिकाले आयात गर्ने प्रमुख पाँच मुलुकमा जापान पनि पर्छ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष जापानले १ खर्ब ४८ अर्ब डलर बराबरको वस्तु अमेरिका निर्यात गरेको थियो । त्यसमा कार, पार्टपुर्जा र कृषि तथा निर्माण उपकरणको हिस्सा बढी थियो ।
त्यस्तै, अमेरिकाले भने गत वर्ष ८० अर्ब डलरबराबरको वस्तु जापान निर्यात गरेको थियो । त्यसमा मुख्य रूपमा तेल, ग्यास, औषधि र हवाई सेवासम्बन्धी उत्पादन थिए ।
ट्रम्पले दोस्रो कार्यालय सुरु गरेलगत्तै अमेरिकाले केही समयका लागि जापानी उत्पादनमा २४ प्रतिशतको भन्सार शुल्क लगाएको थियो । तर, अप्रिलमा त्यसलाई ९० दिनका लागि स्थगित गरिएपछि भने जापानी उत्पादनमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो । जुलाईको पहिलो साता अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिगेरु इसिबालाई पत्र पठाउँदै व्यापार सम्झौताका लागि तयार नभए १ अगस्टदेखि २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए । जापान र अमेरिकाबीच भएको पछिल्लो सम्झौता सन् २०१९ मा भएको व्यापार सम्झौताको विस्तारित रूप ठानिएको छ । ६ वर्षअघिको सम्झौताले धेरै वस्तुहरुलाई भन्साररहित सुविधा दिएको थियो ।
–एजेन्सीको सहयोगमा
