भारतका उपराष्ट्रपति जगदीप धनखडले किन दिए अचानक राजीनामा ?

जति समय उनी उपराष्ट्रपति रहे, 'पोलराइजिङ फिगर' का रूपमा रहे ।

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

Why did India's Vice President Jagdeep Dhankhad suddenly resign?

What you should know

काठमाडौँ — भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । 

धनखडको कार्यकाल अगस्ट २०२७ मा मात्र पूरा हुँदै थियो । उनले कार्यकाल सकिनु २ वर्षअघि नै राजीनामा दिएका हुन् । जनता दल, कांग्रेस हुँदै भाजपामा उनी विभिन्न भूमिका निर्वाह गर्दै देशको दोस्रो सर्वोच्च पदमा पुगेका हुन् । 

तर उनको राजीनामाको 'टाइमिङ' लाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । खासगरी विपक्षी दलहरूले उनको राजीनामामाथि गम्भीर प्रश्न उठाएका छन् । भारतमा उपराष्ट्रपति राज्यसभा सभापतिसमेत हुन्छन् । राज्यसभा सभापतिका रूपमा धनखड्को विपक्षी दलहरूसँग प्राय: टकरावको स्थिति नै रह्यो । यहाँसम्म कि गत वर्षको डिसेम्बरमा विपक्षी गठबन्धन 'इन्डिया' ले उनीविरुद्ध अविश्वास प्रस्तावको नोटिस दिएको थियो ।

धनखडको राजीनामापछि कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, 'उपराष्ट्रपतिको अचानक राजीनामा आउनु अचम्म त छँदैछ, त्यति नै बुझ्न नसकिने पनि । म आज साँझ ५ बजेतिर अन्य सांसदहरूसहित उहाँसँगै थिएँ । साँझ साढे ७ बजे पनि उहाँसँग फोनमा कुराकानी भएको थियो ।' रमेशले धनखडले स्वास्थ्यलाई प्राथमिकता दिनु स्वाभाविक भएको उल्लेख गर्दै अप्रत्याशित राजीनामापछि 'धेरै चिज पाकिरहेको' आशंका गरेका छन् ।

राजीनामा दिनुअघि धनखडले केही मन्त्रीहरूलाई पनि भेटेका थिए । लल्लनटपका अनुसार उनले मोदी सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट गरेका थिए । मिडिया रिपोर्टहरूका अनुसार भन्दै लल्लनटपले धनखडले रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र यातायातमन्त्री नितिन गडकरीसँग भेटेको उल्लेख गरेको छ । ती भेट संसद् परिसरमै भएका थिए । तीन मन्त्री अलग्गै पनि बैठक बसे । सोमबार साँझै रक्षामन्त्री सिंहको कार्यकक्षमा पनि भाजपा सांसदहरूको ताँती लागेको थियो । लल्लनटप लेख्छन्, 'एक जना भाजपा सांसदले नाम नछाप्ने सर्तमा भने, त्यहाँ हामीलाई खालि कागजमा हस्ताक्षर गराइयो ।'

जति समय उनी उपराष्ट्रपतिका रूपमा रहे, 'पोलराइजिङ फिगर' का रूपमा रहे । उनी खुलेरै सनातन र संविधानको कुरा गर्थे । उनले ११ अगस्ट २०२२ मा उपराष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । त्यसअघि उनी पश्चिम बंगालका राज्यपाल थिए । उनी जुलाई २०१९ मा राज्यपाल नियुक्त भएका थिए । राज्यपालका रूपमा पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनी टकरावमै थिए । पछिल्लो समय पनि विपक्षी दलहरूको आरोप छ, 'जगदीप धनखडले पक्षपातपूर्ण ढंगले राज्यसभा बैठक सञ्चालन गरिरहेका थिए ।'

राज्यसभा सभापतिमाथि सत्तारुढ दल भाजपाको दबदबाप्रति सोमबारको एक घटना बीबीसी हिन्दीले उल्लेख गरेको छ । बैठकका दौरान भाजपा सांसद जेपी नड्डाले विपक्षी नेताहरूलाई भने, 'केही पनि रेकर्डमा जाँदैन । जे म बोल्दैछु त्यो मात्रै रेकर्डमा जान्छ । यो तपाईंलाई थाहा हुनुपर्छ ।' सामान्यतया यस्तो सम्बोधन राज्यसभा सभापति वा लोकसभा अध्यक्षले गर्छन् । 

कान्तिपुर

Link copied successfully