ड्रुज समुदायको बाहुल्य रहेको स्वेइदाका लगभग १ हजार ५ सय बेदुइनलाई त्यहाँबाट निकाल्न सरकारले आइतबारदेखि नै बसहरू पठाएको हो
What you should know
बुस्रा अल–हारिर, सिरिया — सिरियाली सरकारले ड्रुज समुदायको बाहुल्य रहेको दक्षिणी सहर स्वेइदामा फसेका बेदुइन परिवारलाई सोमबारदेखि बाहिर निकाल्न सुरु गरेको छ । एकसाता लामो लडाइँलाई रोक्दै गत शनिबार नै अमेरिकाले यहाँ इजरायल र सिरियाबीच युद्धविराम गरिएको बताएको थियो ।
अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार बेदुइन लडाकुले स्वेइदाबाट फिर्ता भएको घोषणा गरेको भोलिपल्टै सरकारले पनि बेदुइन समुदायका परिवारलाई त्यहाँबाट बाहिर निकाल्न सुरु गरेको हो ।
तैपनि ड्रुज मिलिसिया र बेदुइन लडाकुहरूको झडप सोमबार पनि जारी छ । इजरायलले पनि अल्पसंख्यक ड्रुज समुदायको रक्षार्थ स्वेइदा प्रान्तमा सरकारी सेनालक्षित दर्जनौं हवाई आक्रमणहरू गरेको छ । ड्रुज बाहुल्य रहेको स्वेइदामा सरकारी सेनाले बेदुइनहरूको पक्ष लिएर ड्रुजप्रति हमला गरिरहेको इजरायलको आरोप छ ।
ड्रुज धार्मिक अल्पसंख्यक र सुन्नी मुस्लिम समुदायका मिलिसियाहरूबीचको झडपमा कम्तीमा ९ सय ४० जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक साताअघि अपहरण र आक्रमणहरूको शृंखलाबाट सुरु भएको शत्रुतामा लगभग १ लाख २८ हजार ५ सय ७१ स्थानीय विस्थापित भएको बताएको छ ।
सिरियाली सरकारले स्वेइदाका अधिकारीसँग समन्वय गरेर यहाँ रहेका लगभग १ हजार ५ सय बेदुइनलाई बाहिर निकाल्न आइतबार बिहान बसहरू पठाएको सिरियाली राज्य सञ्चालित मिडियाले जनाएको छ । सिरियाली गृहमन्त्री अहमद अल–दलातीले सञ्चारमाध्यम ‘साना’लाई बताएअनुसार बेदुइनलाई स्वेइदाबाट बाहिर निकालेपछि त्यहाँबाट विस्थापित भएका ड्रुजहरूलाई पनि घर फर्कन सहज हुनेछ । उनले लडाइँ धेरै हदसम्म रोकिएको र पूर्ण युद्धविरामका लागि प्रयासहरू जारी रहेको पनि बताए । ‘हामीले स्वेइदालाई सुरक्षित राख्न र त्यहाँ भइरहेको लडाइँ रोक्नका लागि सहर वरिपरि सुरक्षा घेरा लगाएका छौं,’ अल–दलातीले सिरियाली सरकारी समाचार एजेन्सीलाई भनेका छन्, ‘जसले गर्दा यस प्रान्तमा पुनः मेलमिलाप र स्थिरताको स्थापना हुनेछ ।’
बेदुइन परिवारका सदस्यहरू सिरियाको अरब रेड क्रिसेन्टका बस तथा एम्बुलेन्सबाट सहर छोडिरहेका छन् भने केही परिवार भने ट्रकमा आफ्ना सामान राखेर बाहिरिएका सञ्चारमाध्यमहरूले जनाएका छन् । बन्धक आदानप्रदान सम्झौता गर्न शनिबार बसेको वार्ता असफल भए पनि सिरियाली अधिकारीले उक्त सम्झौताका बुँदाहरूबारे कुनै उल्लेख गरेका छैनन् ।
यद्यपि, युद्ध निगरानी गर्ने बेलायतमा रहेको संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले सम्झौताको एक भागको रूपमा बेदुइन लडाकुहरूले उनीहरूले बन्धक बनाएका ड्रुज महिलाहरूलाई रिहा गर्नुपर्ने र प्रान्त छोड्नुपर्ने उल्लेख रहेको बताएको छ । बेदुइन लडाकुहरू आइतबार एकाएक स्वेइदा सहरबाट पछि हटेका थिए । वार्ता असफल भएपछि बेदुइन र ड्रुज मिलिसियाबीच केही ठाउँमा झडप भएको र त्यहाँ इजरायलीले समेत हवाई आक्रमण गरेको एसओएचआरले जनाएको छ । तर इजरायली सेनाले भने सिरियामा रातभरको कुनै पनि हमलाका बारेमा आफूहरूलाई ‘थाहा नभएको’ बताएको छ ।
विस्थापितको अवस्था दयनीय
सिरियामा साम्प्रदायिक दंगा भड्किएपछि विस्थापित भएकाहरूले खाना र पानीका लागि निकै संघर्ष गरिरहनुपरेको जनाइएको छ । स्वेइदा प्रान्तबाट भागेर छिमेकी दारामा पुगेका बेदुइन परिवारहरू छोडिएका भवनहरूमा आश्रय लिएर बसिरहेका छन् भने उनीहरूका लागि राति सुत्न र ओढ्नका लागि लुगाफाटोको कमी देखिएको छ ।
११ जनाको परिवार लिएर पश्चिमी स्वेइदा ग्रामीण इलाकाबाट दारा प्रान्तको बुसरा अल–हरिर सहरमा भागेका सैफ अल–हजले कुखुरा र हाँसहरूसँगै लिएर आएको भए पनि पर्याप्त पानी र खानाको अभावमा संघर्ष गरिरहनुपरेको दुखेसो पोखे । भने, ‘यहाँ तिर्खा लाग्दा पनि पिउने पानी छैन ।’ स्वेइडा सहरबाट भागेका ड्रुजहरू छिमेकी सहर तथा गाउँमा शरण लिन पुगेका छन् । छिमेकी साल्खा गाउँका विद्यालय तथा निजी घरहरू यतिबेला ड्रुज समुदायको आश्रयका कारण खचाखच भरिएका छन् । उनीहरूले बेदुइन्स लडाकुले आफ्ना समुदायका थुप्रैलाई अपहरण गरेपछि विस्थापित भएर छिमेकमा शरण लिन आएको बताए ।
विश्वभरका लगभग १० लाख ड्रुजमध्ये आधाभन्दा बढी सिरियामा बस्छन्, जुन सिरियाको जनसंख्याको ३ प्रतिशत मात्रै हो । अन्य धेरैजसो ड्रुजहरू लेबनान र इजरायलमा बस्छन् । इजरायलले १९६७ को मध्यपूर्व युद्धमा सिरियाबाट कब्जा गरेको गोलान हाइट्समा पनि ड्रुजहरू बस्दै आएका छन् । उक्त क्षेत्रलाई पछि सिरियाले १९८१ मा आफ्नो कब्जामा लिएको थियो ।
सिरियामा २०२४ डिसेम्बरमा राष्ट्रपति बसर अल–असदलाई विद्रोही सेनाले अपदस्थ गरेपछि उत्पन्न राजनीतिक अस्थिरता बढेको थियो । त्यसपछि दमास्कस जाने राजमार्गमा ड्रुज समुदायका एक तरकारी व्यापारीलाई बेदुइनहरूले लुटपाटसँगै अपहरण गरेपछि उक्त घटनाले साम्प्रदायिक दंगा निम्त्याएको थियो । हिंसाको सुरुवात दक्षिणी सिरियाको सुवेदा प्रान्तबाट भएर बेदुइन बसोबास क्षेत्र अल–मकवाससम्म फैलिएको थियो । उक्त क्षेत्रलाई ड्रुज लडाकुहरूले कब्जा गरेपछि हिंसा सुवेदा प्रान्तका अन्य भागमा पनि फैलियो । बेदुइन लडाकुहरूले ड्रुज समुदायको बसोबास रहेका क्षेत्रमा एकपछि अर्को आक्रमण बढाउँदै लगेका थिए ।
असद सरकारको पतनपछि इस्लामिक समूह हयात तहरिर अल–शाम (एचटीएस) ले सिरियामा प्रभाव बढाएको छ, जसले ड्रुज समुदायमाथि धार्मिक र साम्प्रदायिक दबाब सिर्जना गरेको छ । सुन्नी इस्लामिक समूहहरूले ड्रुज समुदायलाई धर्म परिवर्तन गर्न दबाब दिन थालेपछि पनि यहाँ तनाव थप बढेको मानिन्छ । कमजोर सुरक्षा प्रणालीका साथै राष्ट्रपति अहमद अल–शराको अन्तरिम सरकारको नियन्त्रण क्षमताको अभावका कारण पनि सिरियामा पछिल्लो समय साम्प्रदायिक हिंसा बढ्दै गएको देखिन्छ ।
एसओएचआरका अनुसार पछिल्लो एक साता लामो हिंसात्मक झडपमा मृत्यु हुनेमा ३ सय २६ जना ड्रुज लडाकु र २ सय ६२ ड्रुज समुदायका सर्वसाधारण रहेका छन् । जसमा १ सय ८२ जनालाई सिरियाको रक्षा र गृह मन्त्रालयका कर्मचारीले मृत्युदण्ड दिएको एसओएचआरले जनाएको छ । त्यस्तै, झडपमा ३ सय १२ जना सरकारी सुरक्षाकर्मी र २१ जना बेदुइन लडाकुको पनि मृत्यु भएको छ । थप ४ जना बेदुइन सर्वसाधारणलाई ड्रुज लडाकुले मृत्युदण्ड दिएको र इजरायली आक्रमणमा अन्य १५ जना सरकारी सैनिकको मृत्यु भएको एसओएचआरले जनाएको छ । इजरायलले पनि बेदुइनहरूको पक्षमा उभिएका सरकारी सेनालाई निसाना बनाएर ड्रुज बहुल स्वेदा प्रान्तमा दर्जनौं हवाई हमला गरेको थियो ।
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले बेदुइनहरूप्रति बढी सहानुभूति राखेको भन्दै आफ्ना मिलिसियाहरूको आलोचना गर्दै ड्रुज समुदायलाई फकाउने प्रयास गरेका थिए । पछि उनले ‘देशको मामिला सम्हाल्न र सुरक्षा पुनःस्थापना गर्न’ भन्दै बेदुइनहरूलाई सहर छोड्न आग्रह गरेका थिए । ‘हामी बेदुइनहरूलाई उनीहरूको वीरतापूर्ण अडानका लागि धन्यवाद दिन्छौं तर उनीहरूले युद्धविरामका लागि पूर्ण प्रतिबद्ध हुन र राज्यको आदेशको पालना गर्न माग गर्दछौं,’ उनले शनिबार प्रसारण गरिएको सम्बोधनमा भनेका थिए ।
बेदुइन लडाकु तथा सरकारी सेनाले ड्रुज सर्वसाधारणलाई लक्षित गरी गरी दर्जनौंलाई मारेको बताइएको छ । उनीहरूले ड्रुजका घरघरमा छिरेर यस समुदायका धार्मिक नेता तथा प्रतिष्ठित व्यक्तित्वका तस्बिरहरू जलाउने र र वृद्ध ड्रुजहरूका जुँगा खौराउन बाध्य पार्ने जस्ता अपमानपूर्ण कार्य गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
