आरआईसीमा आबद्ध तीन देशको विश्वको क्षेत्रफलको १९ प्रतिशत हिस्सा ओगट्छन् । वैश्विक जीडीपीमा तीन देशको योगदान झन्डै ३३ प्रतिशत रहेको छ ।
काठमाडौँ — सन् १९९० को दशकमा सक्रिय रहेको रुस-इन्डिया-चीन(आरआईसी) नामक त्रिपक्षीय संयन्त्रलाई फेरि ब्युँतिने संकेत देखा परेको छ । रुसले केही वर्षदेखि निष्क्रिय रहेको उक्त संयन्त्रलाई पुन: सक्रिय बनाउने प्रस्ताव अघि सारेको हो ।
केही दिनअघि मात्र रुसी उपविदेशमन्त्री आन्द्रेई रुदेन्कोले आईसीलाई पुन: सक्रिय गराउने मस्कोको चाहना रहेको बताएका थिए । उनले यसबारेमा दिल्ली र बेइजिङसँग कुरा गरिने पनि बताएका थिए ।
रुसी समाचार पोर्टल इज्भेस्तियासँगको कुराकानीमा उपविदेशमन्त्री रुदेन्कोले भनेका थिए, 'यो विषय हामीले दुवै देशसँगको कुराकानीमा उठाउनेछौँ । हामी यस संयन्त्रलाई सफल बनाउन चाहन्छौँ किनकि त यी तीनै देश महत्त्वपूर्ण साझेदार हुन् । त्यस्तै ब्रिक्सका संस्थापक सदस्य पनि ।'
रुसी उपविदेशमन्त्री रुदेन्कोको भनाइमा चिनियाँ विदेश मन्त्रालयले पनि सहमति जनाएको छ । बिहीबार मिडिया ब्रिफिङका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले चीन रुस र भारतसँगको सहकार्य बलियो होस् भन्ने चाहेको बताएका हुन् । उनले भने, 'रुस-भारत-चीन सहयोग केवल तीन देशको आपसी हितको कुरा मात्र होइन, यसले त क्षेत्रीय तथा वैश्विक रूपमै शान्ति, सुरक्षा, स्थिरता र प्रगति हासिल गर्न पनि सहयोग पुर्याउँछ ।'
यसबारे भारतीय विदेश मन्त्रालयको पनि सकारात्मक प्रतिक्रिया आएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, 'आरआईसी एउटा यस्तो संयन्त्र हो जहाँ तीन देश आपसी हितसँग जोडिएका वैश्विक र क्षेत्रीय मुद्दामा विमर्श गर्छन् ।' आरआईसी बैठकको आयोजनासम्बन्धमा तीन देश मिलेर निर्णय गर्ने पनि उनको भनाइ छ ।
कोरोनाभाइरस महामारी र गलवान उपत्यकामा चीन र भारतको सैन्य संघर्षका कारण आरआईसी संयन्त्र शिथिल भएको थियो । गलवान झडपले झन्डै ४ वर्ष चीन-भारत सम्बन्ध चिसिन पुग्यो ।
गत अक्टोबरमा यी दुई छिमेकीबीच सीमा नयाँ व्यवस्था लागू गर्ने सहमति भएको थियो । त्यसलगत्तै रुसको कजानमा ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन भेट भएको थियो ।
लद्दाख झडपको पाँच वर्षपछि मोदी र सीबीच भएको त्यो पहिलो औपचारिक भेट थियो । हालै मात्र भारतीय विदेशमन्त्री एस जयशंकरको चीन भ्रमणले समेत दुई देशको कूटनीतिक सम्बन्धमा थप सुधार देखाएको छ ।
के हो त आरआईसी संयन्त्र ?
