जेलेन्स्कीद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

श्रावण २, २०८२

एजेन्सी

New Prime Minister appointed by Zelensky

किएभ — युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । २०२२ मा रुसी आक्रमण सुरु भएपछि उनी देशको पहिलो नयाँ सरकार प्रमुख बनेकी हुन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले थकित युक्रेनलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेको बताएका हुन् ।

राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्रीसहित सरकारी शीर्षस्थ नेताहरूलाई फेरबदल गर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री डेनिस स्मिहल युक्रेनको इतिहासमै सबैभन्दा लामो समय पाँच वर्षसम्म प्रधानमन्त्री रहेका थिए । उनी ४ मार्च २०२० मा युक्रेनको प्रधानमन्त्री बनेका थिए ।

संसदीय वेबसाइटका अनुसार स्मिहललाई प्रधानमन्त्रीबाट हटाएर रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्मा अन्य परिवर्तनहरू अपेक्षित रहे पनि प्रधानमन्त्रीका रूपमा स्विरिडेन्कोको नियुक्ति यति बेला चर्चाको विषय बनेको छ । 

अमेरिका–युक्रेन खनिज सम्झौताको वार्तामा मुख्य भूमिका खेलेकी स्विरिडेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग उच्चस्तरीय वार्तामा युक्रेनको प्रतिनिधित्व गर्दै आएकी छन् । जसमा रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित छ ।

जेलेन्स्कीले आगामी ६ महिनाका लागि घरेलु हतियार उत्पादन बढाउने, युक्रेनका रक्षा बलहरूका लागि सबै प्रकारका ड्रोनहरूको पूर्ण ठेक्का, आर्थिक सम्भावनाहरू खुलाउन नियमहरू सहज बनाउने र सामाजिक सहायता कार्यक्रमहरूको डेलिभरी सुनिश्चित गर्ने गरी स्विरिडेन्कोलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताएका हुन् ।

स्मिहलले मंगलबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । अब उनले रक्षामन्त्रीका रूपमा रुस्टेम उमेरोभलाई प्रतिस्थापन गर्नेछन् । रुससँगको जारी युद्धका कारण रक्षा मन्त्रालयको जिम्मेवारीलाई युक्रेनमा महत्त्वका साथ हेरिएको छ । जुन मन्त्रालयमा देशको सबैभन्दा धेरै बजेट विनियोजन हुने गर्छ ।

एजेन्सी

Link copied successfully