मस्को — गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ । मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्तापछि युद्धविरामका लागि कुनै ठोस प्रगति हुन नसके पनि ठूलो मात्रामा कैदी आदानप्रदान तथा मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको हो ।
‘युद्धका क्रममा मारिएका १ हजार सैनिकको शव रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,’ युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही गैरसैनिक लडाकुलाई पनि फिर्ता गरिएको दाबी गरिएको छ ।
यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको शव फिर्ता पठाएको पनि बताएका छन् ।
द्वन्द्व जारी रहे पनि दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलका कारण कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र शवको स्वदेश फिर्ती सम्भव भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बाबजुद रुसले युद्धविरामको आह्वानलाई स्वीकार गरिसकेको छैन । गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका मागहरू राखेर त्यो पूरा नहुँदासम्म युद्धविराम गर्न आनाकानी गर्दै आएको छ ।
किएभले भने रुसी मागलाई ‘अस्वीकार्य माग’ भन्दै त्यसलाई खारेज गर्नुपर्ने अडान राखेको छ । उसले यदि मस्को युद्धविरामका लागि लचक हुन इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि पनि उसले प्रश्न उठाएको छ ।
