दक्षिण कोरियामा ‘नेपाल डे–२०२५’

असार ३०, २०८२

कान्तिपुर संवाददाता

'Nepal Day-2025' in South Korea

विराटनगर — दक्षिण कोरियाको राजधानी सियोलमा आगामी जुलाई २० मा ‘नेपाल डे’ कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल सरकार तथा दक्षिण कोरियास्थित नेपाली दूतावासको आयोजना र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाको सह–आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिने जनाइएको छ । 

‘नेपाल डे’ को मूल उद्देश्य कोरियामा रहेका नेपालीबीच आपसी विश्वास, सहकार्य र एकताको भावना सुदृढ गर्नुका साथै नेपाली र कोरियनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्नु रहेको राजदूत डा. शिवमाया तुम्वाहाम्फेले जनाइन् । 

कार्यक्रम सियोलस्थित हेवा स्टेसन (लाइन ४) को एक्जिट २ नजिकै रहेको मरोनीय पार्कमा बिहान ९ बजेबाट सुरु हुनेछ । कार्यक्रममा नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले विभिन्न सांस्कृतिक प्रस्तुति गरिने छन् । विशेषगरी ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने ऐतिहासिक सन्देश र ‘सगरमाथा संसारकै सर्वोच्च शिखर हो’ भन्ने राष्ट्रिय गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा प्रस्तुत गरिनेछ ।

त्यसका अतिरिक्त, नेपाली कला, परम्परागत संस्कृति, लोकसंगीत, नृत्य तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विविध कार्यक्रम प्रस्तुत गरिने छन् । यी प्रस्तुतिले सहभागीलाई नेपालको सांस्कृतिक विविधताको जीवन्त अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको सफल आयोजना एवं व्यवस्थापनका लागि एनआरएनए दक्षिण कोरिया सह–आयोजक रहनेछ भने नेपाली सम्पर्क समिति (एनसीसी), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाजलगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजले विशेष सहकार्य र सहजीकरण गर्ने छन् ।

कार्यक्रमको विशेष अवसरले नेपाल–कोरिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, सांस्कृतिक आदान–प्रदान तथा मित्रताको सेतु निर्माण गर्ने र सम्पूर्ण नेपाली समुदायको गरिमा उजागर गर्ने विश्वास कोरियाका रहेका नेपाली सुनिल कन्दङ्वाले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully