काठमाडौँ — भारत र चीन सन् २०२० को गलवान झडपपछि चिसिएको सम्बन्ध सुधार्ने प्रयासमा देखिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर सिंगापुर भ्रमणपछि सोमबार बेइजिङ पुगेका हुन् ।
सोमबार बेइजिङमा उनी उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । जयशंकरले चिनियाँ उपराष्ट्रपति हान चेङ, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का मन्त्री लिउ चिआन्चाओसँग भेटवार्ता गरे ।
भेटघाटमा भारतीय विदेशमन्त्री जयशंकरले सांघाई सहयोग संगठन(एससीओ) को अध्यक्षमा चीनलाई सघाउने बताएका छन् । उपराष्ट्रपति हानसँगको भेटपछि उनले एक्समा लेखेका छन्, 'एससीओको अध्यक्षमा चीनलाई सघाउने भारतले प्रतिबद्धता जनाएको छ ।' साथै पछिल्लो समय द्विपक्षीय सम्बन्धमा सुधार आएको कुरा पनि छलफलको विषय रहेको उनको भनाइ छ ।
चिनियाँ उपराष्ट्रपति हान चेङसँगको भेटमा जयशंकर ।
त्यस्तै चिनियाँ समकक्षी वाङसँगको भेटमा द्विपक्षीय सम्बन्धमा दीर्घकालीन दृष्टिकोण बनाई स्थिर र रचनात्मक सहकार्यको आवश्यकतामाथि चर्चा भएको जयशंकरको भनाइ छ । त्यस्तै सीमा विवाद हल गर्नेदेखि नागरिकस्तरको सम्बन्धलाई समान्य बनाउने विषयमा पनि आफूहरूबीच कुराकानी भएको उनले बताएका छन् ।
त्यस्तै द्विपक्षीय व्यापार सम्बन्ध सुधार्ने विषयमा पनि भारत र चीनबीच कुराकानी भएको छ । 'पारस्परिक सम्मान, साझा हित र परस्पर संवेदनशीलताको आधारमा भारत-चीन सम्बन्ध सकारात्मक दिशामा अघि बढ्छ भन्ने मलाई विश्वास छ,' विदेशमन्त्री जयशंकरले भनेका छन् ।
मंगलबार तिआनजिनमा एससीओमा आबद्ध राष्ट्रका विदेशमन्त्रीहरूको बैठक हुँदैछ । उक्त बैठकबाट सकारात्मक परिणाम निस्कनेमा पनि भारत आशावादी रहेको विदेशमन्त्री जयशंकरको भनाइ छ । त्यस्तै आईडीसीपीसी मन्त्री लिउसँगको भेटमा बदलिँदो वैश्विक व्यवस्थाका साथै बहुध्रुवीयताको उदयबारे छलफल भएको उनले बताएका छन् ।
अक्टोबर २०२४ मा रुसको कजानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि दुई देशबीच सम्बन्ध सुधार हुन थालेको भारतीय मिडियाहरूले जनाएका छन् । भारत र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठसमेत मनाउँदैछन् ।
५ वर्षपछि भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न अनुमति दिने बेइजिङको निर्णयलाई समेत नयाँदिल्लीले प्रशंसा गरेको थियो । गत अक्टोबरमै लद्दाख क्षेत्रमा ४ वर्षदेखि रहेको सैन्य गतिरोध अन्त्य गर्ने सहमति भएको थियो । सोही सहमतिको केही दिनपछि सी र मोदीबीच भेटवार्ता भएको थियो । त्यसपछि दुई देशका विदेश र रक्षामन्त्रीका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरमा समेत भेटवार्ता भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का मन्त्री लिउ चिआन्चाओसँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर ।
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा सीमामा तैनाथ सुरक्षाकर्मीहरु बीच भएको झडपले भारत र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो । उक्त झडमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएका थिए ।
सबै तस्बिरहरू : भारतीय विदेशमन्त्री जयशंकरको फेसबुक पेजबाट
गत अक्टोबरमा यी दुई छिमेकीबीच सीमा नयाँ व्यवस्था लागू गर्ने सहमति भएको थियो । त्यसलगत्तै रुसको कजानमा ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन भेट भएको थियो । लद्दाख झडपको पाँच वर्षपछि मोदी र सीबीच भएको त्यो पहिलो औपचारिक भेट थियो ।
चीनकै किङदाओमा गत महिना एससीओका रक्षा मन्त्रीहरूको बैठक भएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बैठक संयुक्त वक्तव्यबिना नै सम्पन्न भएको थियो ।
