वेस्ट बैंक — जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ ।
इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएका छन् । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा बढी घरहरू भत्काएको छ ।
सेनाले सुरक्षा कारणहरूले गर्दा भत्काउन आवश्यक भएको बताएको थियो । तर बासिन्दाहरू स्थायी विस्थापन हुने डर रहेको छ । जेनिन नगरपालिकाका प्रवक्ता बशीर माताहिनले लगभग ६०० घरहरू ध्वस्त भएका बताएका छन् ।
शिविर भित्र र वरपर आठ सडकहरू निर्माण गरिएको र त्यहाँबाट २२ हजार स्थानीय विस्थापित भएको उनको भनाइ छ ।
