कंगो — प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च देखिएको छ । संक्रमण अझै आक्रामक देखिएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरू महामारीको उच्च अवस्थामा रहेको र संक्रमित अझै बढिरहेको उनको भनाइ छ ।
देशभर ३३ हजारभन्दा बढी बिरामीहरू रेकर्ड गरिएको जानकारी दिँदै काम्बाले मृत्युदर २ प्रतिशत रहेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार २०२५ मा हैजा संक्रमित हुनेको संख्या २०२४ को कुल ३१ हजार ७ सय ४९ भन्दा बढी रहेको बताइएको छ । देशका २६ मध्ये १७ प्रान्तमा हैजा संक्रमण फैलिएको छ ।
१७ लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानी किन्सासामा हाल सातामा लगभग १ सय ३० नयाँ हैजा संक्रमित बिरामी फेला परिरहेका छन् । सरकारले किन्सासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीलाई निःशुल्क हेरचाह प्रदान गर्दै आएको छ ।
