अमेरिका — नेपालमा अमेरिकी पर्यटकको संख्यामा वृद्धि गर्न न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता बढाएको छ ।
महावाणिज्य दूतावासले अमेरिकी पर्यटन व्यवसायीसँग विभिन्न चरणमा अन्तर्क्रिया, छलफल, नेपालको पर्यटकीय क्षेत्रबारे चर्चा र नेपालमा अमेरिकी पर्यटकका लागि उपलब्ध गराउन सकिने सेवाबारे जानकारी गराउँदै सक्रियता बढाएको हो ।
शुक्रबार महावाणिज्य दूतावास न्युयोर्कले नेपाल पर्यटन बोर्ड र प्यासेफिक एसिया ट्राभल एशोसियसन (पाटा), न्युयोर्क च्याप्टरसँगको सहकार्यमा अमेरिकी पर्यटन कम्पनीसँग छलफल गरेको थियो ।
गत जुन महिनामा नेपालमा भित्रिने पर्यटकमध्ये ९ हजार ६ सय ९६ जना अमेरिकी रहेको तथ्यांक सार्वजनिक गर्दै आगामी महिनामा यो संख्या अझ वृद्धि गर्ने उद्देश्यसहित दूतावासले सक्रियता बढाएको महावाणिज्य दूत दधिराम भण्डारीले बताए । जुन महिनामा नेपाल भित्रिएका ७६ हजार ४ सय २५ विदेशी पर्यटकमध्ये भारतीय पहिलो नम्बरमा रहेको र त्यसपछिको ठूलो संख्या अमेरिकीको रहेको थियो । एक महिनामा ३२ हजार ६ सय ६२ भारतीय पर्यटकले नेपाल भ्रमण गर्दा ९ हजार ६ सय ९६ अमेरिकी नेपाल पुगेका थिए ।
महावाणिज्य दूतावासले न्युयोर्कमा संचालित अमेरिकी पर्यटन कम्पनीसँग गरेको अन्तर्क्रियामा कार्यपत्र प्रस्तुतिका क्रममा महावाणिज्य दूत भण्डारीले हिमाल अवलोकन, आरोहण, कला संस्कृति, प्राकृतिक सौन्दर्य, ऐतिहासिक विरासत, जंगल सफारी र आध्यात्मिकताका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको दाबी गरे । उनले अमेरिकी पर्यटन कम्पनीलाई नेपाल भ्रमणमा जान चाहने पर्यटकका लागि विशेष छुटसहित प्याकेज उपलब्ध गराउन पनि अनुरोध गरे । 
अमेरिकी पर्यटकको औसत बसाइ बढी हुने र अन्य मुलुकका तुलनामा अमेरिकी पर्यटकले दैनिक एक सय डलर खर्च गर्ने हुनाले नेपालको पर्यटन व्यवसायमा प्रभाव पार्ने महावाणिज्य दुतावासको दाबी छ । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको र देशको ढोका मात्र नभइ नेपाली मनको ढोका खोलेर पनि स्वागत गरिने बताए ।
नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले पर्यटन प्रवर्द्धनका लागि अमेरिकी फर्यटन व्यवसायीसँग गरेको अन्तर्त्रिया कार्यक्रमले नेपालमा अमेरिकी पर्यटकको संख्या वृद्धि गर्न निकै सकारात्मक प्रभाव पारेको नेपाल सरकारका लागि न्युयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले बताए । उनले महावाणिज्य दूतावासले अघि बढाएको पर्यटकीय योजनालाई नेपाल सरकारले ध्यानमा राख्न जरुरी रहेको सुनाए । ‘हामी आगामी महिनामा नेपालमा अमेरिकी पर्यटकको संख्या थप बढाउन सक्रिय छौं,’ उनले भने, ‘त्यसका लागि नेपाल सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ ।’
नेपाल भ्रमणपछि नेपालका बारेमा विभिन्न अन्तर्राष्ट्रिय मिडियामा अनुभव प्रकाशन गरेकी लेखिका निर्माता इरिन लेभीले हरेक पटकको नेपाल भ्रमणमा फरक अनुभूति गरेको अनुभव सुनाइन् । कार्यक्रममा प्यासेफिक एसिया ट्राभल एसोसिएसन, न्युयोर्क च्याप्टरले आफ्नो अनुभूति प्रस्तुत गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्दो प्रयास गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल टी कलेक्टिभका संस्थापक निश्चल बास्कोटाले नेपाललाई चिया पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने र अमेरिकी पर्यटकको संख्या बढाउन नेपालको पूर्वी क्षेत्रलाई अर्को गन्तव्य बनाउन सकिने दाबी गरे ।
उनले अमेरिकीका लागि नयाँ क्षेत्र घुमाउन सके पर्यटन व्यवसायीले पनि नयाँ ढंगले प्रचारप्रसार गर्ने बताए । ‘चिया बगान आफैंमा पर्यटकीय क्षेत्र हो, हामीले त्यसलाई प्रचार गर्न सक्नुपर्छ,’ उनले भने, ‘आगामी दिनमा नेपालको पूर्वी क्षेत्रमा अमेरिकी पर्यटकलाई घुमाउन पर्यटन व्यवसायीलाई अनुरोध गर्न चाहन्छु ।’
