नेपाल दक्षिण एसियामै लगानीका लागि उपयुक्त गन्तव्यः नेपाली राजदूत

असार २५, २०८२

लक्ष्मी लम्साल

Nepal is a suitable destination for investment in South Asia: Nepali Ambassador

बेइजिङ — चीनका लागि नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले नेपाल दक्षिण एसियामै वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् ।

मंगलबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा दर्जनौं चिनियाँ लगानीकर्ताहरू भेला पार्दै राजदूत ओलीले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकको प्रतिवेदन र अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीले गरेको क्रेडिट रेटिङका अनुसार नेपाल दक्षिण एसियाकै सबैभन्दा अनुकूल व्यावसायिक वातावरणयुक्त मुलुक भएको ठोकुवा गरे ।

‘उदाउँदो नेपाल: लगानीका अवसरहरू’ विषयक अन्तर्क्रियामा चाइनिज ओभरसिज डेभलपमेन्ट एसोसियसन (कोडा), अरनिको बेइजिङ इन्टरनेश्नल सप्लाई चेन म्यानेजमेन्ट कम्पनीसहित विभिन्न उद्यमीहरू कार्यक्रममा सहभागी थिए । उनीहरु यस कार्यक्रमका सहआयोजक पनि थिए ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका साथै नेपालको राष्ट्रिय आकांक्षा 'समृद्ध नेपाल, सुखी नेपाली' लाई साकार पार्न आर्थिक वृद्धि, त्यसका लागि विदेशी लगानी र अझ चिनियाँ सहयोग आवश्यक रहेकोमा राजदूत ओलीले जोड दिए । 

उनले भने, ‘हाम्रो विकास लक्ष्यहरू प्राप्त गर्न मित्रवत छिमेकी चीनबाट नेपालको ऊर्जा, सूचना प्रविधि, पूर्वाधार, खानी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी र प्रविधि हस्तान्तरण अपरिहार्य छ ।’

नेपाल सरकारले व्यवसाय-मैत्री वातावरण सिर्जना गर्न कानुनी, नियामक र सञ्चालन उपायहरूमा विभिन्न सुधारहरू गरेको र प्रधानमन्त्रीकै अध्यक्षतामा रहनेगरी नेपाल लगानी बोर्ड स्थापना गरेको भन्दै राजदूत ओलीले ट्रान्स-हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्क, चीन-नेपाल मैत्री औद्योगिक पार्क, कृषि-औद्योगिक प्रदर्शन पार्क, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको विकाससँगै बलियो कनेक्टिभिटी र पूर्वाधारको विकासका कारण नेपाल द्विपक्षीय मात्र नभई व्यापार र लगानीको लागि क्षेत्रीय हब हुने दाबी गरे ।

कोडाका अध्यक्ष ह चनवेईले नेपाल र चीनले साझा नियतिका साझेदार मुलुक भएकाले एकअर्काको समृद्धिका लागि सहकार्य गर्नसकिने बताए । पछिल्लो समय चिनियाँ सामानहरू इलेक्ट्रोनिक्स, मेडिकल डिभाइस, सफा-ऊर्जा उत्पादन लगायतको निर्यातले नेपालमा देखिनेगरी स्थान पाएको उनले सुनाए । उनले भने, ‘आपसी सहकार्यका यी सानै उपलब्धीले पनि द्विपक्षीय व्यापार अर्थतन्त्र मात्रै होइन, बृहत् कनेक्टिभिटी परियोजनाका लागि आधार तयार पारेको छ ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भिडियो सन्देश पठाउँदै चिनियाँ लगानीकर्ताहरूलाई नेपाल आउन स्वागत गरे । सभाहलमा ‘सिङ्गिङ बाउल’ ठोकेर आफ्नो भाषण शुरू गरेका अरनिको बेइजिङ इन्टरनेश्नल सप्लाई चेन म्यानेजमेन्ट कम्पनीका कार्यकारी निर्देशक चाइ वनमिङले नेपालबाट आएको विशेष उत्पादनको रुपमा परिचय दिए । 

उनले नेपालमा आफ्नो कम्पनीले लगानी गरेका उद्यम व्यवसायको बारेमा चर्चा गर्दै नेपालप्रतिको चिनियाँको धारणा परिवर्तन हुनुपर्ने सुझाए। आफ्नो अध्ययनमा नेपालीहरूको क्रयशक्ति बढ्दै गएको उनको ठहर थियो । उनले भने, ‘नेपाल त्यति गरिब मुलुक होइन, जति हामी चिनियाँहरू सोचिरहेका छौं।’

दूतवासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा लगानीका संभावनाबारे एउटा प्रस्तुती दिएकी थिइन् । उनले वैदेशिक लगानी भित्र्याउनका लागि नेपालले हरसंभव प्रयासहरू गरिरहेको र उपयुक्त वातावरण निर्माणदेखि नीतिहरू तर्जुमा गरिरहेको बताइन् ।

नेपालमा अहिले लगानीका लागि के कस्तो वातावरण छ? लगानीका प्रक्रियाहरू के कस्ता छन्? लगानीका लागि नेपाल सरकारका पछिल्ला नीतिहरू के के हुन्? चिनियाँ लगानीकर्ताहरूले नेपालमा कसरी लगानी गर्नसक्छन्? जस्ता विषयमा अनुभवी लगानीकर्ताहरूले धारणा ‘शेयर’ गरे । क्वाङतोङ चिनयुआन इकोलोजिकल इन्भायरमेन्ट टेक्नोलीजका महाप्रबन्धक लिउ शङ, शान्सी च्याङहकल्चर कम्युनिकेसन कम्पनीका अध्यक्ष सियाओ छी लगायतले प्रश्नोत्तर शैलीमा इच्छुक लगानीकर्ताका जिज्ञासा मेटाएका थिए ।

लक्ष्मी

Link copied successfully