'ब्रिक्स'देखि झस्किए ट्रम्प, १० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी

असार २३, २०८२

कान्तिपुर संवाददाता

Trump shocked by 'BRICS', warning of 10 percent additional tariffs

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशहरूलाई १० प्रतिशत अतिरिक्त शुल्क लगाउन सक्ने चेतावनी दिएका छन् । ब्रिक्सको 'अमेरिका विरोधी नीति' लाई समर्थन गर्ने मुलुकलाई अतिरिक्त शुल्क लगाउने चेतावनी ट्रम्पले दिएका छन् । 

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, 'ब्रिक्सको अमेरिका विरोधी नीतमा आबद्ध हुने कुनै पनि मुलुकलाई अतिरिक्त १० प्रतिशत शुल्क लगाइने छ । यसमा कसैलाई पनि छुट दिइने छैन ।' यद्यपि ट्रम्पले आप्नो पोस्टमा अमेरिका विरोधी नीतिका बारेमा स्पष्ट रूपमा खुलाएका छैनन् ।

सन् २००९ कम ब्राजिल, रुस, भारत र चीन र पछि थपिएको दक्षिण अफ्रिका समेतलाई बुझाउन ‘ब्रिक्स’नाम दिइएको हो । अहिले यसमा साझेदार मुलुकहरू थपिने क्रम तीव्र भएको छ । २०२४ मा दक्षिण अफ्रिकामा भएको पन्ध्रौं सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई सदस्यका रूपमा थपेको थियो । पछि अर्जेन्टिनाले यो समूहमा सामेल हुने निर्णय थाती राख्यो । 

Trump shocked by 'BRICS', warning of 10 percent additional tariffsतस्बिरहरू : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पेजबाट

ब्रिक्स देशका नेताहरू ब्राजिलको रियो दी जेनेरियोमा भेला भइरहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो ।  ब्रिक्स समूहका मुलुकहरूले वर्तमान विश्वको आधा जनसंख्या, विश्वव्यापी तेल उत्पादनको ४० प्रतिशत र वस्तु निर्यात व्यापारको लगभग २५ प्रतिशत हिस्सा ओगट्छन् । त्यसैले पनि ब्रिक्सलाई पश्चिमा शक्तिको 'काउन्टर ब्यालेन्स' का रूपमा हेरिन्छ ।

यस पटकको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ भने सहभागी भएनन् । आफ्नो १२ वर्षे राष्ट्रपति कार्यकालमा पहिलो पटक सी ब्रिक्स शिखर सम्मेलनमा अनुपस्थित भएका हुन् । त्यस्तै युक्रेनसँग युद्ध झेलिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी छैनन् ।  त्यस्तै भर्खरै इजरायलसँगको युद्धका कारण इरानी राष्ट्रपति मसूद पेजेश्कियान पनि ब्राजिल पुगेका छैनन् । विदेशमन्त्री अब्बास अराघ्चीले सम्मेलनमा इरानी प्रतिनिधित्व गर्नेछन् । 

कान्तिपुर

Link copied successfully